लगातार तेस्रो जितसँगै कञ्चनपुर यू–१९ फाइनलमा, कैलाली ५ रनले पराजित
कञ्चनपुर — वाई–वाई यू–१९ पुरुष एकदिवसीय प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत पाँचौँ दिनको पाँचौँ खेलमा कञ्चनपुरले कैलालीलाई ५ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै कञ्चनपुरले प्रतियोगितामा लगातार तेस्रो जितसमेत दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुर यू–१९ ले २६ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो। कञ्चनपुरका लागि अंकुश ओखेडाले सर्वाधिक ३० रन बनाए। उनले २० बलमा ६ चौका प्रहार गरे। त्यस्तै, हिमाल पन्तले ४२ बलमा ३ चौकासहित १८ रन तथा अंकित चन्दले २३ बलमा ३ चौकासहित १५ रनको योगदान दिए।
कैलालीका बलर रुद्रप्रसाद आचार्यले ७.३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने रोशन रावलले ६ ओभरमा १ मेडनसहित २३ रन दिएर ३ विकेट हात पारे।
८९ रनको सामान्य लक्ष्य पछ्याएको कैलाली यू–१९ ले ३०.३ ओभरमा ५ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। कैलालीका निश्चल क्षेत्रीले ४७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए। त्यस्तै, प्रीकंल चन्दले ५४ बलमा १ चौकासहित १८ रन जोडे।
कञ्चनपुरको जितमा बलर जनक सिंह सुनार र सृजल ओडले उत्कृष्ट प्रदर्शन गरे। जनक सिंह सुनारले ४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, सृजल ओडले ७.३ ओभरमा १ मेडनसहित १६ रन दिएर ४ विकेट झारे। उनीहरूको उत्कृष्ट बलिङका कारण कञ्चनपुरले कम योगफल बनाएर पनि खेल आफ्नो पक्षमा पार्न सफल भयो।
कञ्चनपुरका जनक सिंह सुनार प्लेयर अफ द म्याच घोषित
उत्कृष्ट बलिङ प्रदर्शन गरेका कञ्चनपुरका जनक सिंह सुनार प्लेयर अफ द म्याच घोषित भए।
जनक सिंह सुनारले ४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चेर ४ विकेट लिए।
यस जितसँगै कञ्चनपुर यू–१९ ले लगातार तेस्रो जित दर्ता गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। कञ्चनपुरको यो सफलताले जिल्लाको युवा क्रिकेट टोलीको मनोबलसमेत उच्च बनाएको छ।





प्रतिकृया दिनुहोस