भिमदत्त नगरमा मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु
कञ्चनपुर। होली फ्याम्ली अंग्रेजी माध्यम स्कुल को आयोजना तथा भिमदत्त नगरपालिका को सह–प्रायोजनमा भिमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८३ आयोजना भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित विद्यालयको खेल मैदानमा जेठ १५ अर्थात आजबाट प्रतियोगिता सञ्चालन भइरहेएको आयोजकले जनाएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहीबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको उद्देश्य, सञ्चालन प्रक्रिया, पुरस्कार र व्यवस्थापनबारे जानकारी गराइएको हो ।
प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । प्रतियोगिताका लागि भिमदत्त नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रतियोगितामा भिमदत्त नगर क्षेत्रका १८ वटा टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई जनही २ हजार ५ सय रुपैयाँ, म्यान अफ द सिरिज लाई ३ हजार रुपैयाँ तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने विद्यालयका सञ्चालक भुपाल सिंह विष्टले बताए ।
पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगिताको ट्रफीसमेत अनावरण गरिएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक भुपाल सिंह विष्टको सभापतित्व रहेको थियो । प्रमुख अतिथिका रूपमा भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्ट सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका सचिव विशाल सोनार सहित विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
विशिष्ट अतिथि महादेव प्रसाद भट्टले विद्यालयले विगतदेखि नै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस प्रतियोगिताले भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता जेठ १५ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
विद्यालयका सञ्चालक भुपाल सिंह विष्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने भिमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ कञ्चनपुर तथा अन्य सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सक्रिय साथ र सहयोग आवश्यक रहने बताए ।





प्रतिकृया दिनुहोस