वेदकोटमा मेयर कप फुटबल, ५ नम्बर वडाको विजयी सुरुवात
कञ्चनपुर। वेदकोट नगर तेस्रो मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। वेदकोट नगरपालिका–५ पोल्खरीस्थित गोल्डेन युवा क्लवको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो।
वेदकोट नगरपालिका वडा नं. ५ को आयोजना भइरहेको प्रतियोगिताको एक कार्यक्रमबीच वेदकोटका नगरप्रमुख भोजराज बोहराले उद्घाट गरे।
उद्घाटन समारोहको अवसरमा वेदकोट नगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएको थियो। वेदकोट कर्मचारीले जनप्रतिनिधिलाई ३–० गोलअन्तरले पराजित गरे।
प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक वेदकोट वडा नम्बर ५ ले विजयी सुरुवात गरेको छ। वेदकोट वडा नम्बर ५ ले वेदकोट वडा नम्बर ४ लाई २–० गोलअन्तरले पराजित गरेको हो। वेदकोट वडा नम्बर ५ का लागि जीवनसिंह धामी र ललित कामीले एक/एक गोल प्रहार गरे।
प्रतियोगिताका खेलहरु लिग कम नकआउटका आधारमा खेलाइने छ। सहभागी ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा वेदकोट वडा नं. १, २, ४, ५ र १० छ भने समूह बीमा वेदकोट वडा नं. ३, ९, ५ जी र ६ छ।
प्रतियोगिता कार्तिक २१ गतेसम्म सञ्चालन हुने छ। विजेता टिमले ५० हजार १२५ रुपैयाँ र उपविजेता टिमले २५ हजार १२५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
यस्तै उत्कृष्ट स्ट्राइकर, प्लेयर, डिभेन्डर, गोलकिप्पर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई उपहार र प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी पुरस्कृत गरिने छ।





प्रतिकृया दिनुहोस