राष्ट्रिय ब्राण्ड अवार्डमा कञ्चनपुरका तीन प्रतिभा सम्मानित
कञ्चनपुर। शिक्षा, उद्यमशीलता, कला तथा संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका कञ्चनपुरका तीन प्रतिभा ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ मा सम्मानित भएका छन् ।
गोल्डेन ब्रिज पब्लिक स्कुलकी प्रधानाध्यापक दिपशिखा बर्मा, कला तथा संगीत क्षेत्रका करण सिंह पाल र अभिनेता अंश वर्मालाई ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको अवार्ड समारोहमा सम्मान तथा अवार्ड प्रदान गरेको हो ।
काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा २०२६ सेप्टेम्बर ४ मा सम्पन्न समारोहमा उनीहरूलाई आ–आफ्नो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि सक्रिय बर्मालाई शैक्षिक विकासमा पु¥याएको योगदानका लागि सम्मान–पत्र प्रदान गरिएको थियो ।
गोल्डेन ब्रिज पब्लिक स्कुलको प्रधानाध्यापकका रूपमा शैक्षिक नेतृत्व गर्दै उनले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाका ६ जनाभन्दा बढी विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएकी छन् ।
गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पु¥याउने उद्देश्यसहित उनले गरेको प्रयासलाई आयोजकले सामाजिक तथा मानवीय सेवासँग जोडिएको उदाहरणीय कामका रूपमा उल्लेख गरेको छ । सम्मान–पत्रमा उनको नेतृत्व, ज्ञान, क्षमता र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरिएको छ ।
त्यस्तै, करण सिंह पाललाई नेपाली कला, संगीत तथा मनोरञ्जन क्षेत्रको प्रवद्र्धनमा पु¥याएको योगदानका लागि विशेष सम्मान प्रदान गरिएको हो । कला–संस्कृतिप्रति निरन्तर सक्रिय रहँदै आएका पाललाई कलाप्रेमी, आयोजक तथा कला क्षेत्रका शुभचिन्तकका रूपमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएकोे छ ।
अभिनेता अंश वर्माले भने ‘सिन्दूर’ गीतमा गरेको अभिनयका लागि ‘बेस्ट एक्टर मोडर्न सङ मेल’ विधाको अवार्ड हात पारेका छन् । गीतमा उनको अभिनयलाई मूल्याङ्कन गर्दै उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएकोे छ ।
विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएका व्यक्तिहरूको योगदानलाई राष्ट्रिय स्तरको मञ्चबाट सम्मान गरिनुले उनीहरूको कामलाई थप हौसला मिल्ने विश्वास आयोजकको छ । अवार्ड समारोहमा वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङ, ब्राण्डरुट इन्टरटेनमेन्टका अध्यक्ष सुनिल बस्नेतलगायत नेपाली कला तथा संगीत क्षेत्रका कलाकार, सर्जक र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।
सम्मानपछि प्रधानाध्यापक बर्माले शिक्षा क्षेत्रमा गर्दै आएको कामलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
पाल र वर्माले पनि आफूहरूले प्राप्त गरेको सम्मानले कला तथा सिर्जनशीलताको क्षेत्रमा अझ उत्साहका साथ काम गर्न प्रेरणा मिलेको बताएका छन् ।





प्रतिकृया दिनुहोस