जिल्ला प्रशासनद्वारा छाडा चौपाया समस्या अध्ययन गर्न कञ्चनपुरमा ११ सदस्यीय कार्यदल गठन

कञ्चनपुर, कञ्चनपुरमा वर्षौंदेखि जटिल बन्दै गएको छाडा पशु चौपायाको समस्या समाधानका लागि अध्ययन कार्यदल गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बुधबार भएको छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो । छलफलमा कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सिंह महतासहित विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।

कार्यदलले जिल्लामा छाडा चौपायाको अवस्था कस्तो छ भन्ने यकिन गर्नुका साथै त्यसबाट किसान, सडक तथा सार्वजनिक क्षेत्रले भोगिरहेको समस्याको अध्ययन गर्नेछ । विशेषगरी चौपायाका कारण कृषि बालीमा भइरहेको क्षति, सडक दुर्घटनाको जोखिम, सार्वजनिक स्थानमा परेको असर र चौपायाको संरक्षणको अवस्थाबारे कार्यदलले तथ्य संकलन गर्ने जनाइएको छ ।

छाडा चौपाया व्यवस्थापनका नाममा विगतमा स्थानीय तह तथा अन्य निकायबाट भएको खर्चको विवरणसमेत कार्यदलले खोज्नेछ । खर्च हुँदै आए पनि समस्या किन समाधान हुन सकेन भन्ने विषयलाई पनि अध्ययनको मुख्य आधार बनाइने भएको छ ।

समस्या पहिचानसँगै समाधानको बाटो खोज्न कार्यदलले स्थानीय तह, जिल्ला प्रशासन, वन कार्यालय, पशु सेवा क्षेत्र, प्रहरी, कृषक, उद्योग वाणिज्य, पशु संरक्षणमा काम गर्ने संस्था, राजनीतिक दललगायत सरोकारवालासँग छलफल गर्नेछ । उनीहरूबाट प्राप्त सुझावका आधारमा दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक सुझाव तयार गरिने बताइएको छ ।

कञ्चनपुरका बजारदेखि मुख्य सडक, बस्ती र कृषि क्षेत्रमा छाडा चौपायाको समस्या देखिँदै आएको छ । सडकमा चौपाया बस्ने गरेका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै किसानले लगाएको बालीमा क्षति हुने गरेको छ । सार्वजनिक स्थलमा समेत यसले असहजता सिर्जना गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस