ट्राफिक व्यवस्थापनमा सक्रियता बढाउँदै प्रहरी, नागरिकले दिए दुर्घटना न्यूनीकरणका सुझाव
कञ्चनपुर। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका विषयमा सरोकारवालासँग नागरिक सुनुवाइ गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन गरिरहेका सचेतनामूलक तथा दुर्घटना न्यूनीकरणका कार्यक्रमबारे जानकारी गराउँदै सरोकारवालाबाट सुझावसमेत संकलन गरेको हो ।
कार्यक्रममा भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष सुशील भट्टले बजार तथा बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक प्रविधि तथा उपकरण सहयोग गर्ने बताए । उनले सवारी चालकले ट्राफिक नियमको पालना गरेर मात्रै सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
स्थानीयले पनि सवारी दुर्घटना न्यूनीकरणका लागि सडक तथा यातायातका भौतिक पूर्वाधार सुधार गर्नुपर्ने, आवश्यकताअनुसार मात्रै सवारी साधन भित्र्याउनुपर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।
ट्राफिक नियम पालना नगर्दा चालक स्वयंको ज्यान जोखिममा पर्ने तथा अरूको ज्यानसमेत जोखिममा पर्ने भएकाले चालकसँगै पैदल यात्रु पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले जिल्ला ट्राफिक प्रहरीले सञ्चालन गर्दै आएको सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् । ट्राफिक प्रहरीको नियमित सक्रियताले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको धारणा थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, चालु आर्थिक वर्षको दुई महिनामै जिल्लामा ७० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १०९ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । एक चौपायासमेत दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक बलेन्द्र नाथले दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, क्षमताभन्दा बढी यात्रु बोक्नु तथा ट्राफिक नियमप्रति पर्याप्त सचेत नहुनु रहेको बताए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमदेखि नियमित चेकजाँचलाई तीव्रता दिएको उनको भनाइ छ ।
उनका अनुसार, दुई महिनाको अवधिमा ३१३ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी करिब १४ हजार नागरिकलाई ट्राफिक नियमबारे जानकारी दिइएको छ ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालक र सवारी साधनमाथि कारबाहीसमेत तीव्र पारेको छ । दुई महिना पूरा नहुँदै १ हजार ९०८ वटा ट्राफिक कारबाही भएका छन् । कारबाहीबाट १३ लाख ५ हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरी निरीक्षक नाथले बताए ।
यस अवधिमा लागुऔषध सेवन गरी सवारी चलाउने पाँच जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ३७५ जना चालकलाई कारबाही गरिएको छ । मदिरा सेवन गरी ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना चालकलाई जनही ३ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलमा ध्वनि मोडिफाइ गरी चलाउने १० जनामाथि पनि कारबाही गरिएको छ । उनीहरूलाई जनही ७ हजार रुपैयाँ जरिवाना गराउनुका साथै मोटरसाइकलमा जडान गरिएको मोडिफाइड ध्वनि हटाइएको प्रहरी निरीक्षक नाथले बताए । ती मोटरसाइकललाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयसमेत पठाइएको पनि उनले बताए ।
यात्रुवाहक सवारी साधनमा यात्रुसँगै सामान ओसार्ने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनमाथि पनि कारबाही भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । नियम उल्लङ्घनको प्रकृति हेरेर नगद जरिवाना, सचेतना कक्षा तथा आवश्यक कागजी प्रक्रिया पूरा गराएर सवारी चालकलाई छाड्ने गरिएको प्रहरी निरीक्षक नाथले बताए ।
उनका अनुसार जिल्लामा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने अभियानलाई निरन्तरता दिइएको छ ।





प्रतिकृया दिनुहोस