विपद्को अवस्थामा प्रजनन तथा स्वास्थ्य सेवाको निरन्तरतामा जोड
कञ्चनपुर। विपद् तथा संकटको अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी, पहुँचयोग्य र निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल परिवार नियोजन संघ, कञ्चनपुरको आयोजना तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वयमा ‘संकटको अवस्थामा प्रजनन तथा स्वास्थ्य सेवाका लागि न्यूनतम प्रारम्भिक सेवा’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सहभागीहरुले विपद्का समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, किशोरकिशोरी तथा अन्य जोखिममा रहेका समूहलाई आवश्यक पर्ने आधारभूत स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्नु पर्नेमा जोड दिएका छन्।
अभिमुखीकरणका क्रममा प्राकृतिक विपद्, महामारी वा अन्य मानवीय संकटका बेला स्वास्थ्य संस्थाको सेवा अवरुद्ध हुन नदिन आवश्यक पूर्वतयारी, स्वास्थ्य सामग्रीको व्यवस्थापन, दक्ष जनशक्ति परिचालन तथा सम्बन्धित निकायबीच समन्वयका विषयमा प्रस्तुतीकरण गरिएको थियो।
साथै, यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिलाई तत्काल आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, एचआईभी तथा यौनजन्य संक्रमणको रोकथामलगायतका विषयलाई पनि प्राथमिकताका साथ समेटिएको थियो।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्वास्थ्य कार्यालय, विभिन्न पालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले विपद्का समयमा सबैभन्दा बढी प्रभावित हुने गर्भवती महिला, सुत्केरी, नवजात शिशु, किशोरकिशोरी र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउन पूर्वतयारी अपरिहार्य रहेको बताएका थिए।
उनीहरूले विपद् व्यवस्थापन योजनामा यौन तथा प्रजनन स्वास्थ्यलाई अनिवार्य रूपमा समावेश गरी संघ, प्रदेश, स्थानीय तह तथा सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रस्तुत सुझाव तथा अनुभवले कञ्चनपुर जिल्लामा विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै संकटको समयमा नागरिकले आधारभूत प्रजनन तथा स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले विपद्मा उद्धारका साथै स्वास्थ्यपोचारका लागि सबैले सहयोग गरेर लाग्नु पर्नेमा जोड दिए। भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताइन्।
विपद्संगै स्वास्थ्य सेवा निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरिएको र बजेट अपुग भए त्यसको प्रबन्ध गरिने प्रतिवद्धता जनाइन्।





प्रतिकृया दिनुहोस