भीमदत्त–१६ को शहरी स्वास्थ्य केन्द्रमा ल्याब सेवाः स्थानीयलाई उपचारमा सहज

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मा बसन्तपुरस्थित शहरी स्वास्थ्य केन्द्रले ल्याब सेवा सञ्चालनमा ल्याएसँगै स्थानीयलाई बिरामी परीक्षणमा राहत मिलेको छ । सामान्य जाँचका लागि पनि बजार वा टाढाका अस्पतालसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।

वि.सं. २०६८ मा स्थापना भएको यस केन्द्रले सुरुमा परिवार नियोजन र गर्भवती जाँच आधारभूत सेवाहरू प्रदान गर्दै आएको अएतापनि वि.सं. २०७२ बाट बर्थिङ सेवा विस्तार गरेको यस स्वास्थ्य केन्द्रले वि.सं. २०७९ बाट भने विभिन्न रोगहरूको परीक्षण तथा बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको हो ।

भीमदत्त नगरपालिका–१६ पर्खेडीकी स्थानीय मैनावती चौधरीले भनिन्, ‘स्वास्थ्य सेवा सुचारु भएसँगै बिरामी पर्दा आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पतालसम्म जानुपर्ने बाध्यता हटेको छ । यसले गर्दा हामी स्थानीयलाई निकै सहज भएको छ ।’

शहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टका अनुसार, केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाब लगायत २९ प्रकारका रोगहरूको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ । उनले थपे, ‘हामीले २४ घण्टा सेवा दिइरहेका छौँ, जसले गर्दा स्थानीयले जुनसुकै बेला पनि स्वास्थ्य सेवा पाउन सक्छन् ।’

भीमदत्त नगरपालिकाले केन्द्रलाई आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । यसै कारणले गर्दा पनि दैनिक ४० देखि ५० जना बिरामी यस केन्द्रमा सेवा लिन आउने गरेका छन् ।

बसन्तपुरस्थित शहरी स्वास्थ्य केन्द्र, ल्याब सेवा।


 

प्रतिकृया दिनुहोस