देखतभूली स्वास्थ्य चौकीमा घरमै सुत्केरी हुने शून्य
कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा अएको छ । जसले गर्दा घरमै सुत्केरी हुने महिलाको संख्या शून्य भएको छ ।
सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ । स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका गर्भवती महिलाहरूले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन् ।
चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने गरी स्वास्थ्यकर्मीलाई पालैपालो खटाइएको छ । चालु आर्थिक वर्षको हालसम्म १ सय ३० भन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिइसकेको चौकीले जनाएको छ ।
यस क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर शून्य रहेको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुने चलन समाप्त भएको प्रमुख झाले बताए ।
उनले यसबाट सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गरे । रासस





प्रतिकृया दिनुहोस