यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै कभर्ड हल क्षेत्रमा सरसफाइ अभियान सम्पन्न

कञ्चनपुरमा आयोजना हुन गइरहेको यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ लाई लक्षित गर्दै स्थानीय कभर्ड हल परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

लामो समयपछि आफ्नो क्षेत्रमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको अवसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सञ्चालन गरिएको हो।

अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरसफाइ अभियन्ता, क्रिकेट संघका पदाधिकारी, विभिन्न समितिका प्रतिनिधि तथा क्रिकेटप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कभर्ड हल परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै प्रतियोगिता सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

राष्ट्रियस्तरको प्रतियोगिता आफ्नै ठाउँमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेलकुदको विकाससँगै आफ्नो क्षेत्रको सरसफाइ, सुन्दरता र पहिचान कायम राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग र सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।

यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ आगामी मंसिर ७ गतेदेखि मंसिर २१ गतेसम्म स्थानीय कभर्ड हलमा सञ्चालन हुँदैछ।

प्रतिकृया दिनुहोस
↑