जेलमा हुँदा रविको त्यो भाकल, स्टिभ जब्सदेखि मार्क जुकरवर्गले पाइला टेकेको यो कैँची धाम

कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने शुक्रबार तीन दिने भ्रमणका लागि पश्चिमी सीमा गड्डाचौकी हुँदै भारत गए। रास्वपाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक गत १८ जेठमा भारतको राजकीय भ्रमण गरेका लामिछाने अचानक पाँच महिनापछि फेरि त्यतै हानिएपछि राजनीति वृत्तमा चर्चाको विषय छ। 

तर लामिछानेले यो पटकको भ्रमण राजनीतिक नभएर व्यक्तिगत धार्मिक यात्राको रुपमा रहेको बताएका छन्। 

काठमाडौंबाट विमानमा कैलालीको धनगढी ओर्लिएका उनले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यो भ्रमणलाई राजनीतिसँग नजोड्न आग्रह गरे। त्यति मात्रै होइन सभापति लामिछानेले आफू कारागारमा हुँदा गरेको भाकल पूरा गर्न धार्मिक भ्रमणमा निस्किएको स्पष्ट पारे। 

पत्नी निकितासहित भ्रमणमा रहेका लामिछाने भारत उत्तराखण्डको नैनीतालस्थित कैँची धाम दर्शन गरेका छन्। र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरको दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम छ।

धनगढी विमानस्थलमा लामिछानेले भनेका थिए, ‘पहिलादेखि जाने भाकल पनि थियो। मेरो परिवार पनि आध्यामिक भएकाले म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो।’ 

कैँची धाम : नीम करोली बाबाको तपोभूमि
लामिछानेको धार्मिक यात्राको एउटा प्रमुख गन्तव्य हो– उत्तराखण्डको नैनीताल नजिकै रहेको कैंची धाम। यसको पहिचान प्रसिद्ध आध्याध्मिक गुरु नीम करोली बाबा ९महाराजजी०सँग जोडिएको छ। यो आश्रम भारतका प्रसिद्ध धार्मिक तथा आध्यात्मिक स्थलमध्ये एक हो।

नीम करोली बाबा भारतका प्रसिद्ध आध्यात्मिक सन्त तथा भगवान् हनुमानका अनन्य भक्त थिए। उत्तर प्रदेशमा जन्मिएका उनको वास्तविक नाम लक्ष्मण नारायण शर्मा थियो। 

प्रेम, सेवा, करुणा र भक्तिलाई जीवनको मूल मन्त्र मान्ने बाबाका अनुयायी भारतसहित विश्वका विभिन्न देशमा छन्। उत्तराखण्डको नैनीताल नजिक रहेको कैंची धाम आश्रम उनको आध्यात्मिक विरासतसँग जोडिएको प्रसिद्ध धार्मिक स्थल हो।

कैंची धामको इतिहास सन् १९६२ बाट जोडिन्छ। नीम करोली बाबा र स्थानीय भक्तहरूको पहलमा यहाँ आश्रम तथा मन्दिर निर्माणको प्रक्रिया अघि बढेको थियो। सन् १९६४ मा यहाँको पहिलो हनुमान मन्दिरको प्रतिष्ठापन गरिएको थियो। यस क्षेत्रको धार्मिक महत्व बाबाअघि पनि साधुसन्तहरूको तपस्यासँग जोडिएको थियो। 

बाबा यस स्थानमा आएपछि त्यसलाई व्यवस्थित धार्मिक केन्द्रका रूपमा विकास गर्ने काम अघि बढ्यो। समयसँगै यहाँ हनुमानजीको मन्दिर र अन्य धार्मिक संरचनाहरू विकसित भए।

सन् १९७३ मा नीम करौली बाबाले देहत्याग गरेपछि पनि उनका अनुयायीहरूको आस्था कमजोर भएन। बरु बाबाको शिक्षा, स्मृति र आध्यात्मिक विरासतसँग जोडिएर कैंची धाम उनका अनुयायी तथा हनुमान भक्तहरूको प्रमुख तीर्थस्थलका रूपमा स्थापित हुँदै गयो।

कसरी रह्यो कैंची धाम नाम ?
कैंची धामको नामसँग यसको भौगोलिक बनावट जोडिएको छ। कुमाउँ पहाडमा अवस्थित यस ठाउँमा सडकका दुईवटा तीखा घुम्तीहरू कैंचीका दुईवटा पाता जस्तै एकआपसमा क्रस भएको जस्तो देखिन्छन्। यही विशेष बनोटका कारण यस ठाउँको नाम ‘कैंची’ रहन गएको मानिन्छ। 

पहाडको बीचमा रहेको आश्रम, नजिकैको खोला, हरियाली र प्राकृतिक शान्तिले एकाग्र भएर बस्ने अवसर दिने कैँची धाम पुगेकाहरू बताउँछन्। 

उनीहरूका अनुसार कैंची धाम पुग्ने भक्तजनका लागि यो केवल एउटा मन्दिरको दर्शन गर्ने स्थान मात्र नभएर आस्था, विश्वास र मानसिक शान्तिको खोजी गर्ने गन्तव्य रहेको हो। 

‘आफ्नो मनोकामना पूरा होस्, जीवनमा कठिनाइ सामना गर्ने शक्ति मिलोस् र मनमा शान्ति प्राप्त होस् भन्ने विश्वासका साथ दर्शन गर्ने गर्छन्,’ धामको दर्शन गरेका महेन्द्रनगरका कैलाश जोशी भन्छन्, ‘त्यहाँ पुगेपछि अर्कै किसिमको ऊर्जा आउँछ।’ 

कसैले कठिन समयमा गरेको भाकल पूरा गर्न त कोही जीवनमा शान्ति र सकारात्मकताको अनुभूतिको खोजीको विश्वासका साथ दर्शन गर्ने गरेको उनले बताए।

स्टीभ जब्सदेखि जुकरवर्गसम्मले पाइला टेकेको भूमि
यो धार्मिक स्थल आज केवल स्थानीय श्रद्धालुको आस्थाको केन्द्र मात्र छैन। भारतदेखि युरोपसम्मका आध्यात्मिक खोजीमा रहेका मानिसहरूको ध्यान तान्ने गन्तव्यका रूपमा समेत यसको पहिचान बनेको छ। 

कैंची धाम आश्रममा एप्पलका सहसंस्थापक स्टीभ जब्स र फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि पुगेका छन्। जसका कारण पनि यो धार्मिक स्थल अन्तराष्ट्रिय चर्चामा आएको हो।

आध्यात्मिक शान्ति र मार्गदर्शनको खोजीमा कैँची धाम पुगेका थिए, जब्स। प्रकाशित विभिन्न सामाग्रीअनुसार सन् १९७४ मा भारत भ्रमणमा आएका जब्स नीम करोली बाबालाई भेट्न चाहन्थे। तर उनी आश्रम पुग्नुअघि नै बाबाको सन् १९७३ मा निधन भइसकेको थियो।

जब्सले पछि फेसबुकका संस्थापक जुकरवर्गलाई आफ्नो कम्पनीको उद्देश्यबारे पुनर्विचार गर्न कैंची धाम जान सुझाव दिएका थिए। जुकरवर्ग सन् २००८ मा फेसबुकको सुरुवाती चरणमा कम्पनी कठिन अवस्थाबाट गुज्रिरहेका बेला कैंची धाम पुगेका थिए। 

सन् २०१५ मा अमेरिकी क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा मार्क जुकरबर्गले फेसबुकको सुरुवाती कठिन समयमा जब्सको सल्लाहमा भारतको एउटा मन्दिर भ्रमण गरेको बताएका थिए। 

उक्त भ्रमणले फेसबुकको उद्देश्यप्रतिको आफ्नो विश्वास थप बलियो बनाएको उनको भनाइ थियो। जुकरवर्ग सन् २००८ मा उत्तराखण्डस्थित कैंची धाम पुगेको विवरण द वासिङ्टन पोस्टले प्रकाशित गरेको छ।

कामाख्या मन्दिर पनि धार्मिक गन्तव्य
लामिछानेको भ्रमणको अर्को गन्तव्य आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर हो। भारतका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यो मन्दिर हिन्दू धर्मको शक्तिपूजा परम्परामा विशेष महत्व राख्छ।

नीलाचल पहाडमा अवस्थित कामाख्या मन्दिर देवी कामाख्याप्रति समर्पित छ। विशेषगरी तान्त्रिक तथा शाक्त परम्परासँग यसको ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको छ। 

प्रतिकृया दिनुहोस
↑