सुदूरपश्चिम प्रहरी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले १३ लाखको भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छलीका सामानसहित पिकअप जिप बरामद गरेको छ ।

प्रहरीले कृष्णपुर नगरपालिका–५ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट बुधबार से १ च ३१९ नम्बरको महेन्द्रा पिकअप जिप नियन्त्रणमा लिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा जिपमा लुकाएर राखिएको विभिन्न कम्पनीका ४३६ जोर जुत्ता बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जनाएको छ ।

बरामद जुत्ताको मूल्य ३ लाख ३ हजार ६ सय  र पिकअप जिपको मूल्य १० लाख रुपैयाँ गरी कुल १३ लाख ३ हजार ६ सय बराबर रहेको प्रहरीले जनाएको छ ।

जिप चालक बेलौरी नगरपालिका–४ रिछाका ३८ वर्षीय कुशल चौधरी र जिपमा सवार बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४२ वर्षीय श्यामसिंह रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद सामान, जिप र दुवै जनालाई आवश्यक कारबाहीका लागि बिहीबार भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑