महाकालीको झोलुंगे पुल छिटो पुनर्निर्माण गर्न रमेश लेखकको आग्रह
कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुलको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार बिहान पुलको अनुगमन गरेका लेखकले पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
लेखकले उक्त पुल दोधारा–चाँदनी वा कञ्चनपुरको मात्र नभई देशकै ऐतिहासिक सम्पदा भएको बताए ।
कुनै समय दोधारा–चाँदनीबाट नेपालको अन्य भूभागमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले पुलले यस क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष जोड्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक सांसद निर्वाचित भएपछि महाकाली नदीमा झोलुंगे पुल निर्माण गरेर दोधारा–चाँदनीलाई जोड्ने प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा राखेको उनले बताए ।
त्यतिबेला कतिपयले यस्तो पुल निर्माण असम्भव भन्दै ठट्टा गरेको उनको भनाइ छ ।
नेपाल सरकारको बजेट तथा नेपाली प्राविधिक र निर्माणकर्ताको प्रयासबाट पुल निर्माण सम्भव भएको उल्लेख गर्दै लेखकले यसले देशका अन्य स्थानमा लामो झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकासमा समेत योगदान पुर्याएको बताए ।






प्रतिकृया दिनुहोस