दशैं–तिहारमा घर फर्किने यात्रु सहजका लागि कञ्चनपुरका ८ ठाउँमा सहायता कक्ष
महेन्द्रनगर। दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कञ्चनपुरको गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
भारत लगायत विभिन्न देशबाट चाडपर्व मनाउन घर फर्किने नेपाली यात्रुलाई सहजता र सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सहायता कक्ष स्थापना गरेका हुन् ।
सहायता कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गरेका छन् । सीमा क्षेत्रमा यात्रुले भोग्न सक्ने लुटपाट, ठगी तथा अन्य समस्या समाधानका लागि सहायता कक्षमा प्रहरी चौबीसै घण्टा खटिने कञ्चनपुर प्रहरी प्रमुख नेत्रमणि गिरीले बताए ।
उनका अनुसार, चाडपर्वका बेला सीमा क्षेत्रमा यात्रुको चाप बढ्ने भएकाले कुनै समस्या परे तत्काल प्रहरीलाई जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार, यात्रुको सहजताका लागि कञ्चनपुरका आठ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
भीमदत्त नगरपालिकाको गड्डाचौकी, बसपार्क र ब्रह्मदेव, दोधारा चाँदनी नगरपालिकाको बाबाथान, शुक्लाफाँटा नगरपालिकाको झलारी बजार, कृष्णपुरको गुलरिया चौराहा, बेलौरीको बसपार्क र पुनर्वासको डोके बजारमा सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सुरक्षा प्रदान गर्नुका साथै समस्या परे तत्काल सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गरिने प्रहरीले जनाएको छ ।






प्रतिकृया दिनुहोस