कञ्चनपुरमा दशैं–तिहारको सुरक्षा स् विस्फोटक र लागुऔषध खोज्न ‘सेरा’ र ‘जुली’ परिचालन

कञ्चनपुर। दशैं–तिहारलाई लक्षित गर्दै कञ्चनपुर प्रहरीले सुरक्षा निगरानी बढाएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी र बसपार्कमा हुने आवतजावतलाई लक्षित गरी प्रहरीले तालिमप्राप्त कुकुर ‘सेरा’ र ‘जुली’लाई समेत परिचालन गरेको छ ।

विस्फोटक पदार्थ पत्ता लगाउन ‘सेरा’ र लागुऔषध पहिचान गर्न ‘जुली’लाई प्रयोग गरिएको प्रहरीले जनाएको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सीमा नाका, बसपार्क तथा अन्य संवेदनशील क्षेत्रमा विशेष चेकिङ भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरीका अनुसार चाडपर्वको सुरक्षा व्यवस्थाका लागि जिल्लाभर करिब एक हजार प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले मोबाइल गस्ती, सादा पोसाकका प्रहरी, पेट्रोल गस्ती तथा अन्य टोलीलाई विभिन्न क्षेत्रमा परिचालन गरेको छ । विशेषगरी चोरी, डकैती, लागुऔषध ओसारपसार तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले निगरानी केन्द्रित गरेको जनाएको छ ।

‘चाडपर्वमा मानिसको आवतजावत र भीडभाड बढ्ने भएकाले सुरक्षा निगरानी बढाएका छौं,’ प्रहरी प्रमुख गिरीले भने, ‘सम्भावित आपराधिक गतिविधि रोक्न जिल्लाभर विभिन्न प्रकारका गस्ती परिचालन गरिएको छ ।’

गड्डाचौकी नाका र बसपार्कमा यात्रु तथा सवारीसाधनको जाँचलाई समेत कडाइ गरिएको छ । शंकास्पद गतिविधि तथा सामानमाथि निगरानी राख्न तालिमप्राप्त कुकुरको सहयोग लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ‘सेरा’ विस्फोटक पदार्थ पत्ता लगाउन र ‘जुली’ लागुऔषध पहिचान गर्न तालिमप्राप्त छन् । उनीहरूलाई आवश्यकताअनुसार सुरक्षा जाँचका क्रममा परिचालन गरिनेछ ।

प्रतिकृया दिनुहोस
↑