भारतको धौलीगंगा बाँध ४८ घण्टा खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कञ्चनपुर । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।

आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो।

बाँध खोलिने अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदीमा नजान, नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ।

बाँधका ढोका बन्द गरिएपछि पनि केही समय महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस
↑