रसुवाको बाढीपछि सम्पर्कविहीन भएका प्रेमप्रकाशको कुशको शव बनाएर अन्त्येष्टि
कञ्चनपुर । रसुवाको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, तिलकेनीका प्रेमप्रकाश जोशीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
भदौ १० गते रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रेमप्रकाशको ३४ दिनसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले सोमबार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।
प्रेमप्रकाश रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा इलेक्ट्रिसियनका रूपमा कार्यरत थिए । बाढी आउनुअघि उनले आमालाई फोन गरेर आफू रातिको ड्युटी सकेर कोठामा आएको बताएका थिए ।
‘राति ड्युटी थियो, अहिले कोठामा आएको छु भनेर फोन गरेको थियो,’ प्रेमप्रकाशकी आमा देवकी जोशीले छोरासँगको अन्तिम कुराकानी सम्झिँदै भनिन्, ‘केही बेरमा बाढी आइहाल्यो । त्यसपछि कुनै सम्पर्क भएन ।’
प्रेमप्रकाशको खोजीका लागि उनका दाइ लोकेन्द्र चितवन, देवीघाट हुँदै काठमाडौंसम्म पुगे । अस्पतालदेखि सम्भावित सम्पर्कस्थलसम्म पुगेर खोजी गरे पनि उनले भाइको कुनै खबर पाउन सकेनन् ।
प्रेमप्रकाश लामो समयदेखि रसुवामा काम गर्दै आएका थिए । करिब सात वर्ष रसुवागढीमा काम गरेपछि दुई–तीन वर्षअघि उनी अपर त्रिशूली–१ आयोजनामा पुगेका थिए । घरमा रहेका आमाबुवा, श्रीमती र भाइहरूसँग उनको नियमित फोन सम्पर्क हुने गरेको परिवारले जनाएको छ ।
असारमा रोपाइँका लागि घर आएका प्रेमप्रकाशले तिहारमा फेरि घर आउने बताएका थिए । तर रसुवामा बाढी आएपछि परिवारसँग उनको सम्पर्क टुट्यो ।
छोराको कुनै खबर नआएपछि आमा देवकीको स्वास्थ्यसमेत कमजोर बन्दै गएको परिवारले जनाएको छ । उनी नसा सम्बन्धी समस्याका कारण नियमित औषधि सेवन गर्दै आएकी थिइन् ।
छोराको अवस्था थाहा नपाएपछि उनी बारम्बार मेरो छोरा खोजिदिनू भन्दै भक्कानिने गरेको कान्छा छोरा योगेन्द्रले बताए ।
प्रेमप्रकाशकी श्रीमती कमला पनि श्रीमान्को खबर आउने आशामा थिइन् । घरमा वृद्ध सासू–ससुरा बिरामी रहेका कारण श्रीमान्को खोजीका साथै घरको जिम्मेवारीसमेत उनले सम्हाल्दै आएकी थिइन् ।
३४ दिनसम्म खोजी गर्दा पनि प्रेमप्रकाशको अवस्था पत्ता नलागेपछि परिवारले अन्ततः उनको कुशको शव बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरेको हो ।





प्रतिकृया दिनुहोस