महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनमा रोक

कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल)मा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेबहादुर रावतका अनुसार पुलमा पानीको बहाव १ लाख ७६ हजार ७७४ क्युसेक पुगेपछि नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।

पैदल यात्रु तथा दुईपाङ्ग्रे सवारीसाधनलाई भने अवस्था हेरेर आवतजावत गर्न दिइने प्रहरीले जनाएको छ । तीन दिनदेखि सुदूरपश्चिममा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेको छ ।

पहाडी क्षेत्रमा पहिरो जानसक्ने सम्भावना रहेकाले मानवीय जोखिमलाई मध्यनजर गर्दै महेन्द्रनगरबाट पहाडी क्षेत्रमा जाने सवारीसाधनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रशासनका अनुसार रोक लगाइएका सवारीसाधनको आवागमन सोमबारको अवस्था हेरेर सञ्चालन गरिनेछ ।
 

प्रतिकृया दिनुहोस
↑