स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण र रक्तदान कार्यक्रम

कञ्चनपुर।  सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी, कञ्चनपुरले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा शुक्रबार विभिन्न सामाजिक तथा जनहितका कार्यक्रम सम्पन्न गरेको छ।
स्थापना दिवसका अवसरमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

भीमदत्त नगरपालिका–११ स्थित महाकाली जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।  गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रममा सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक चुनराज थापा, भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यालयमा अध्ययनरत करिब ५०÷६० जना विद्यार्थीको उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ।  उक्त कार्यक्रममा गण तथा मातहतका इकाइमा कार्यरत २३ जना सशस्त्र प्रहरी कर्मचारीले रक्तदान गरेका थिए।

यस्तै, गण परिसरमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरी विभिन्न प्रजातिका १३० वटा बिरुवा रोपिएको थियो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ अधिकृत, जुनियर अधिकृत तथा अन्य दर्जासहित ११२ जनाको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल नं. ३५ गणले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑