दिल्लीबाट फर्किँदै गरेका दोधारा चाँदनीका २ युवकको कारको ठक्करबाट मृत्यु
कञ्चनपुर। भारतमा कारको ठक्करबाट दुई जना नेपाली युवकको मृत्यु भएको छ। उत्तराखण्ड राज्यस्थित उधमसिंह नगरको नानकमत्ता क्षेत्रअन्तर्गत बिडोरा–मझोला मार्गमा भारतीय कारले ठक्कर दिँदा दुई नेपाली युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का राहुल चदारो र दोधारा चाँदनी नगरपालिका–९ का कमल खड्का रहेका छन्। उनीहरु दुवै जना मोटरसाइकलमा भारतको राजधानी दिल्लीबाट घर फर्कदै गरेका थिए। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार शुक्रबार तीव्र गतिमा रहेको कार र मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र सितारगंज लगिएको थियो। गम्भीर घाइते दुवैलाई चिकित्सकले मृत घोषित गरेका थिए। शव अस्पतालमा राखिएको छ। मृतक युवकका आफन्त शव बुझ्न शनिबार भारत जाँदैछन्। दुर्घटनाग्रस्त क्षेत्र दोधारा चाँदनीबाट नजिकै पर्छ।
‘दुर्घटनाको खबरपछि आफन्तसहित हिजो हामी त्यहाँ पुगेका थियौं। शव पोष्टमार्टमका लागि राखिएको छ,’ दोधारा चाँदनी नगरपालिका–९ का अध्यक्ष गोपीलाल कडेलले भने, ‘कार चालक फरार छन्। प्रहरीमा एफआरआइ गर्छौै।’
उनका अनुसार मृतकका आफन्तसहित अहिले त्यहाँ जाने तयारी भइरहेको छ। पोष्टमार्टमपछि शनिबार नै शव ल्याइने दोधारा चाँदनी नगरपालिका–८ का अध्यक्ष ओमप्रकाश रोकायाले बताए।
मृतक युवक भारतको दिल्लीमा काम गर्थे। दुवै जनाले मोटरसाइकलमा घर फर्किदै गरेका बेला दुर्घटनामा ज्यान गुमाएका हुन।





प्रतिकृया दिनुहोस