दोधरा–चाँदनी चारलेन पुल निर्माणबारे मन्त्रालयमा छलफल
कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने निर्माणाधीन चारलेन पुलको प्रगति, देखिएका समस्या तथा रोकिएको काम पुनः सुरु गर्ने विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा महत्वपूर्ण छलफल गरिएको छ।
कंचनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंहमहताले महाकाली पुल आयोजनाका निर्देशक थानेश्वोर खत्री तथा निमित्त आयोजना प्रमुख नेत्र देवकोटा सँग भेटवार्ता गर्दै पुल निर्माणको हालसम्मको प्रगतिको जानकारी लिनुका साथै रोकिएको काम यथाशीघ्र अघि बढाउने विषयमा छलफल गर्नु भएको हो ।
छलफलका क्रममा सांसद महताले स्थानीयवासीको लामो समयदेखिको अपेक्षा जोडिएको आयोजनालाई छिटो सम्पन्न गर्न आवश्यक समन्वय र पहल गर्न आग्रह गर्नुभएको छ।
उहाँले निर्माण कार्यलाई पुनः गति दिन मन्त्रालयस्तरबाट आवश्यक निर्णय, बजेट सुनिश्चितता तथा सम्बन्धित निकायबीच समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।
दोधरा–चाँदनी क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण मानिएको उक्त पुल निर्माण सम्पन्न भएमा स्थानीय आवागमन सहज हुने, व्यापार–व्यवसायमा वृद्धि हुने तथा समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।





प्रतिकृया दिनुहोस