कञ्चनपुरका ९ पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
कञ्चनपुर। कञ्चनपुरका ९ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
जिल्ला खोप समन्वय समितिको बैठकले राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत जिल्लाभरिका बालबालिकाले पाउनुपर्ने सबै खोपको पहुँच सुनिश्चित भएको निष्कर्षसहित घोषणा गर्ने निर्णय गरेको हो।
प्रस्तुत तथ्याङ्कअनुसार ० देखि १५ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोप प्राप्त गरेको सुनिश्चित गरिएको छ।
साथै १६ देखि २३ महिनासम्मका शून्य डोज तथा २० देखि ५९ महिनासम्मका आंशिक खोप लगाउन छुटेका बालबालिकालाई समेत वैशाख महिनाभित्र खोप सेवा उपलब्ध गराइएको जनाइएको छ।
खोप समन्वय समिति, आमा समूह, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा घरधुरी सर्वेक्षण गरी तथ्याङ्क संकलन गरिएको थियो।
सोही तथ्याङ्कका आधारमा जिल्लाका ९ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
यसैगरी बैठकले परिवार कल्याण महाशाखाको निर्देशिकाअनुसार प्रत्येक पालिकाबाट उत्कृष्ट कार्यसम्पादन गरेका एक–एक जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने निर्णय गरेको छ।
पालिकाबाट छनोट भई आएका स्वास्थ्यकर्मीलाई जिल्ला स्तरको पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पुरस्कृत गरिने जनाइएको छ।
शनिबार सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकले प्रदेश खोप समन्वय समितिलाई जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको महत्वपूर्ण योगदान रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।





प्रतिकृया दिनुहोस