तमु यिनिकन ढुगां हान्दा छौ, यिनि आफु डुबीकन पनि लास खोज्दाछन
महाकाली नदीको किनार मंगलबार असामान्य रूपमा भीडभाड थियो। सामान्य दिनझैं देखिने त्यो वातावरण अचानक शोकमा परिणत भयो, जब अछामको साफेबगर नगरपालिका–बुढाकोट घर भई हाल सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा अध्ययनरत मनिष कुँवर नदीमा नुहाउने क्रममा बेपत्ता भए।
घटनापछि नदी किनारमा जम्मा भएको भीडमा अनेक आवाजहरू सुनिन्थे। कसैले प्रहरी प्रशासनको ढिलासुस्तीमाथि प्रश्न उठाइरहेका थिए भने कसैले प्रमुख जिल्ला अधिकारी प्रति असन्तुष्टि पोखिरहेका थिए। तनाव र आक्रोशले भरिएको त्यो वातावरणमा मानवीय संवेदना भन्दा आरोप–प्रत्यारोप बढी हावी भएको देखिन्थ्यो।
तर बुधबार दिउँसो करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल नं .७ बैद्यनाथ वाहिनी मुख्यालय, कैलालीबाट आएको गोताखोर टोली घटनास्थलमा पुग्यो। टोलीले एक घण्टाभित्रै बेपत्ता मनिष कुँवरको शव फेला पार्न सफल भयो। यो कार्य सहज थिएन—महाकालीको गहिराइ, तीव्र बहाव र जोखिमपूर्ण अवस्थाबीच उनीहरूले आफ्नो ज्यानकै जोखिम मोलेर खोजी कार्य सम्पन्न गरेका थिए।
त्यही भीडको बीचमा एक वृद्ध आमाको स्वरले भने फरक सन्देश दिइरहेको थियो। उनले आफ्नै पहाडी भाषामा भनिन्, “तमु यिनिकन ढुगां हान्दा छौ, यिनि आफु डुबीकन पनि लास खोज्दाछन।” उनको भनाइको अर्थ थियो—“तिमीहरू यिनै प्रहरीलाई ढुंगा हान्छौ, तर यिनै प्रहरी तिमीहरूको डुबेको मान्छे खोज्न आफ्नै ज्यान जोखिममा राख्छन्।”
यो भनाइले त्यहाँ उपस्थित धेरैलाई क्षणभर सोच्न बाध्य बनायो। आलोचना गर्नु सहज छ, तर संकटको घडीमा अग्रपंक्तिमा उभिने यिनै सुरक्षाकर्मीहरूको योगदान प्रायः ओझेलमा पर्ने गरेको यथार्थ यसले उजागर र्गयो।
गोताखोर टोलीमा असई बिरेन्द्र बहादुर कार्की, जवान कालु चौधरी, टेक बहादुर बोहरा, सन्तोष बलायर र सुनिल नेपाली रहेका थिए। सुदूरपश्चिममा कार्यरत यी सुरक्षाकर्मीहरूले सीमित स्रोत–साधन र न्यून बजेटका बाबजुद जोखिमपूर्ण परिस्थितिमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्।
नेपालका सुरक्षा निकायहरू अपराध नियन्त्रण, विपद् व्यवस्थापनदेखि विभिन्न सामाजिक अशान्तिसम्मका क्षेत्रमा निरन्तर खटिँदै आएका छन्। तर स्रोत–साधनको अभाव र बढ्दो जनअपेक्षाका कारण उनीहरू सधैं आलोचनाको घेरामा पर्ने गरेका छन्।
महाकाली नदीको यो घटना केवल एक दुःखद दुर्घटना मात्र होइन, यो हाम्रो सोच र व्यवहारमाथिको प्रश्न पनि हो। हामीले सुरक्षाकर्मीहरूलाई केवल आलोचनाको दृष्टिले हेर्ने कि उनीहरूको समर्पण र योगदानलाई पनि सम्मान गर्ने—यो निर्णय समाजकै हातमा छ।
कञ्चनपुर बाढी, नदी कटान तथा डुबानको दृष्टिले संवेदनशील जिल्ला मानिन्छ। वर्षायाममा महाकाली नदीको बहाव बढ्ने, बस्ती नजिकै खोलानाला बग्ने र जनसंख्या पनि नदी किनार आसपास बसोबास गर्ने भएकाले जोखिम अझ बढ्ने गरेको छ।
स्थानीयवासीहरूका अनुसार, “घटना भएपछि मात्र टोली बोलाउने परिपाटीले मानवीय क्षति बढाउने जोखिम रहन्छ । यदि महेन्द्रनगरमै दक्ष गोताखोर टोली र आवश्यक उपकरणसहित तयारी अवस्थामा राख्न सकियो भने यस्ता घटनामा तुरुन्तै प्रतिक्रिया दिन सकिने स्थानियको भनाई छ ।






प्रतिकृया दिनुहोस