मिठाई पसललाई उत्पादनदेखि उपभोग्य मितिसम्मको विवरण खुलाउन कञ्चनपुर प्रशासनको निर्देशन
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई मिठाईको गुणस्तर र उपभोक्ता सुरक्षासम्बन्धी विवरण अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ ।
कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विषयगत निर्देशनअनुसार मिठाई व्यवसायीलाई आफूले उत्पादन तथा बिक्री गर्ने मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न मिल्ने मिति र मूल्यसहितको विवरण राख्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचनाअनुसार होटल, मिठाई पसल तथा मिठाई भण्डार सञ्चालकले आफूले उत्पादन गरेको मिठाई कुन–कुन मुख्य कच्चा पदार्थ मिसाएर बनाइएको हो, कुन तेल वा घिउ प्रयोग गरिएको हो र कुन मितिसम्म उपभोग गर्न मिल्छ भन्ने जानकारी उपभोक्ताले सजिलै देख्न सक्ने गरी राख्नुपर्नेछ ।
त्यसका लागि व्यवसायीले मिठाई राख्ने सोकेस वा काउन्टरमा ग्राहकले स्पष्ट रूपमा देख्न सक्ने गरी विवरण राख्न प्रशासनले अनुरोध गरेको छ । सूचनामा मिठाईको नाम, मुख्य सम्मिश्रण, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य प्रतिकिलोलगायतका विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उपभोक्ताले आफूले खरिद गर्न लागेको खाद्य पदार्थको गुणस्तर, त्यसमा प्रयोग भएका सामग्री र उपभोग्य अवधिबारे जानकारी पाउन सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रशासनको सूचना पत्रमा उल्लेख छ ।
कार्यालयले तोकिएको विवरण नराखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेसमेत जनाएको छ । प्रशासनले मिठाई व्यवसायीलाई निर्देशन पालना गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छतामा ध्यान दिन अनुरोध गरेको छ ।


2026-10-22-12-01-05.png)


प्रतिकृया दिनुहोस