राससका पत्रकार अवस्थीलाई सहकारी पत्रकारिता पुरस्कार
कञ्चनपुर । राष्ट्रिय समाचार समिति (रासस) का कञ्चनपुर संवाददाता महादेव अवस्थी सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शुक्रबार आफ्नो २८औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अवस्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
सहकारीले अवस्थीलाई ११ हजार रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको छ ।
सहकारीका अध्यक्ष नारा जोशीले उनलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।
पत्रकारिताका माध्यमबाट सहकारी तथा आर्थिक क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अवस्थीलाई पुरस्कृत गरिएको सहकारीले जनाएको छ ।
आर्थिक क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारीले विगत चार वर्षदेखि सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
साधारणसभाको उद्घाटन समारोहमा सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले अवस्थीले पत्रकारितामार्फत सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
बेदकोट नगरपालिका–७ निवासी अवस्थी एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।
उनले रेडियो, छापा तथा अनलाइन सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् । पछिल्लो समय उनी राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध छन् ।
अवस्थीले कला, संस्कृति र साहित्यका विषयमा समेत कलम चलाउँदै आएका छन् ।





प्रतिकृया दिनुहोस