कञ्चनपुरमा बाढी र कटानको जोखिम बढ्दो, स्थायी समाधानको माग गर्दै संसदमा महताको आवाज

काठमाडौं । कञ्चनपुरमा वर्षेनी दोहोरिने बाढी र नदी कटानको समस्याले स्थानीयको जनजीवन प्रभावित हुँदै गएको भन्दै सांसद ज्ञानेन्द्र महताले यसको स्थायी समाधानका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै कञ्चनपुर–३ का सांसद महतले आफू केही सातादेखि निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गरेको र त्यहाँका अधिकांश नागरिकले बाढी तथा कटानलाई मुख्य समस्याका रूपमा उठाएको बताए ।

उनका अनुसार, महाकाली, जोगबुढा लगायत जिल्लाका विभिन्न नदी तथा खोलाले वर्षायाममा ठूलो क्षति पु¥याउने गरेका छन् । नदीको बहाव बढेपछि बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन बग्ने तथा सडक र सार्वजनिक संरचनामा क्षति पुग्ने समस्या हरेक वर्ष दोहोरिने गरेको उनले उल्लेख गरे । 

विशेष गरी नदी किनार आसपास बसोबास गर्ने परिवारहरू असुरक्षित अवस्थामा बाँच्न बाध्य रहेको भन्दै उनले समयमै प्रभावकारी योजना लागू नगरे थप मानवीय र आर्थिक क्षति हुन सक्ने चेतावनी दिए ।

सांसद महतले स्थानीय तहले सीमित स्रोतसाधनबाट पूर्वतयारी गरिरहेको भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले जोखिमयुक्त क्षेत्रमा तटबन्ध निर्माण, कटान नियन्त्रण कार्यक्रम, पर्याप्त बजेट व्यवस्था तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
 

प्रतिकृया दिनुहोस