महेन्द्रनगरमा गौरा महोत्सव मनाउँदै महाकाली साहित्य संगम
संस्कृतिमाथि आक्रमण भइरहेको छः पूर्वमुख्यमन्त्री रावल
कञ्चनपुर। महाकाली साहित्य संगमले महेन्द्रनगरमा गौरा महोत्सव मनाउने भएको छ। यही भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो।
महाकाली साहित्य संगमले शनिबार पत्रकार सम्मेलनमार्फत गौरा महोत्सव मनाउने र त्यसको तयारी तीव्र पारिएको बताएको छ।
महाकाली साहित्य संगम केन्द्रीय कार्यसमिति कञ्चनपुरका अध्यक्ष हरिश प्रसाद जोशीका अनुसार सम्पदा संरक्षण र सांस्कृतिक गौरव उच्च राख्न महोत्सव आयोजना हुन लागेको हो।
वि.सं. २०४७ मा स्थापना भएको साहित्य संगमले वि.सं. २०५० सालदेखि हरेक वर्ष गौरा महोत्सव मनाउँदै आएको छ।
महोत्सवमा डेउडा मात्रै नभएर गिती कथा वाचन, लोक संगित र वाद्य प्रदर्शन लगायत कार्यक्रम आयोजना गर्ने तयारी छ।
महाकाली साहित्य संगमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले संस्कृतिमाथि आक्रमण भइरहेको बताएका छन्।
‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ। मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ। सुसंस्कृति स्थापित गर्दै सम्पदा संरक्षण र सांस्कृतिक गौरवका लागि महोत्सव आयोजना गरिने लागिएको हो,’ उनले भने।
सुदूरपश्चिमको लोक संस्कृति घरमा मात्रै सीमित रहेको बताउँदै उनले गौरवका रुपमा रहेका भाषा संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताए।
‘हामीलाई छाउपडी र देउकी प्रथा मान्ने ठाउँको मान्छे भनेर चिन्छन्। चौतलो दिदीबहिनी भेट्ने पर्वको रुपमा मनाउँछौं,’ उनले भने, ‘यसरी एकता र मिलनलाई अरु कस्ले पर्वको रुपमा मनाउँछ? हामीले यसलाई स्थापित गर्न सकेनौं।’





प्रतिकृया दिनुहोस