जसमाथि भरोसा गरिन्, उसैले छोरीको जीवन बन्धक बनायो

महेन्द्रनगर। ५० वर्षीया मानमति (नाम परिवर्तन) का आँखा छोरीको भविष्यको चिन्ताले रसाउथे । छोरीले शिक्षापछिको आत्मनिर्भरताको नयाँ जीवन पाओस् भन्ने सपना लिएर आफन्तको सहारामा पुगेकी थिइन् मानमति । आफ्नै भाइ गणेश विष्टले छोरीलाई भारतमा पढाउँछु भनेपछि उनले नसोची विश्वास गरिन् । नगरुन पनि कसरी छोरीका आफ्नै मामा जो थिए ।

छोरीलाई भारतको ब्यांगलोर पठाउँदा आमा मानमतिका आँखामा आशा र भरोशाका आँसु थिए । तर, छोरी भारत पुगेको केही महिनामै आमा मानमतिको निधन भयो । आमाको मृत्युपछि छोरीको फोन पनि पातलिदै गयो । यहीँ समय भान्जीका लागि कालो बादल बन्यो । मामा गणेशका भाइ नरेश विष्ट जो कान्छा मामा पर्थे, उनले आफ्नै भान्जीसँग विवाह गरे । त्यो विवाह सहमतिबिना, जबरजस्ती गरिएको थियो । विवाहपछिको जीवन न त प्रेम थियो, न सुरक्षा, थियो त केवल नियन्त्रण, हिंसा र बन्धन ।

जब घरबाट काकाले केही महिनाअघि फोनमा भतिजीको रुन्चे आवाजमा बृतान्त सुने, तब घटनाको नालिवेलि थाहाँ भयो । तर यो खबर परिवारले पाउँदासम्म धेरै ढिलो भएको थियो । यहाँ आफ्नै मामाले भान्जीको भविष्यलाई हरण गरेपछि आफन्तमा कुनै शब्द छैन । आमाले छोरीका लागि देखेको सपना आफन्तकै हातबाट खोसियो ।

आइतबार मामा गणेश विष्टले भान्जीलाई अचेत अवस्थामा शुक्लाफाँटा नगरपालिका घरमा पुगाए । उनी अहिले झलारीको टि एण्ड सि अस्पतालमा उपचाररत छिन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा, किशोरीको नरेशसँग विवाह भएको जेठा मामा गणेशबाट थाहाँ भएको छ । किशोरीलाई नेपाल ल्याउने गणेश अहिले प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस