थारु बस्तीमा माघीको उल्लास [फोटो फिचर]

कञ्चनपुर। कैलाली–कञ्चनपुरका थारु बस्तीमा माघीको हर्षोल्लास छ। थारु समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन्।

थारु समुदायमा माघ १ गतेदेखि नयाँ वर्ष सुरु भएको छ। थारु सम्वत् २६४८ को सुरुवात भएको हो।

यो पर्वका अवसरमा हरेकका घरमा विशेष परिकार बनाएर खाने गरिन्छ। वर्षभरि टाढा रहने परिवारजन, आफन्तजन पनि यो पर्व मनाउन जमघट गर्छन्। मघौटा नाच र ढमार गीतले बस्ती गुञ्जयमान छन्। ठाउँमा–ठाउँमा आयोजित माघी मिलन कार्यक्रममा बालक, तन्नेरीदेखि वृद्धवृद्धासम्मको जमघट छ। 

कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरकी सीता डगौँराका अनुसार माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाएर आ–आफ्नो आफन्त, इष्टमित्रहरूसँग भेटघाट गर्ने, अग्रजबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद लिइएको थियो। 

मकर संक्रान्तिको अघिल्लो दिन बंगुर काट्ने गरिन्छ। माघीको तयारी करिब एक साताअघि नै गरिन्छ।  माघीको तेस्रो दिन माघ २ गते ‘खिच्रहवा’ भनिन्छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु अगुवा बताउँछन् ।

माघीको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ। 

यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भनिन्छ। थारु बस्तीमा अहिले बडघर छान्ने तटारो पनि छ।

माघीमै परिवारका सदस्य जमघटल भएर वर्षभरीको योजना बनाउनेदेखि घर छुट्टिनेसम्मका कार्य हुने गरेको थारु अगुवाको भनाइ छ। थारबस्ती ‘मघौटा नाच’ले गुञ्यमान बनेका छन्।

प्रतिकृया दिनुहोस