डोटेली हास्यबाट गीतसम्म ह्यारी कार्की (भिडिओ)

महेन्द्रनगर। सुदूरपश्चिमको बैतडी जिल्लाको बिनासौ गाउँमा जन्मिएका ह्यारी कार्कीको जीवन सहज थिएन । बाल्यकालमै उनले आमासँगै दाउरा संकलन गरेर गोठलापानी बजारमा बिक्री गर्थे, सँगै अध्ययनलाई पनि अघि बढाउँथे । तर जब दाउरा बेचेर पनि जीविकोपार्जन गर्न मुस्किल पर्न थाल्यो, उनले होटलमा भाँडा माझ्ने काम गर्न थाले ।

जीवनको कठिन यात्रालाई आत्मसात् गर्दै अघि बढेका ह्यारीको संघर्षले समयसँगै नयाँ मोड लियो । परिश्रम र दृढ इच्छाशक्तिका साथ अघि बढ्दै जाँदा उनी सरकारी सेवामा प्रवेश गरे । शसस्त्र प्रहरी बल (एपीएफ) मा सामेल हुँदै राष्ट्रसेवामा समर्पित भए ।
सरकारी सेवासँगै उनले टिकटकमा आफ्नै स्थानीय शैलीमा कमेडी भिडियो बनाउँदै आफ्नो प्रतिभाको ढोका खोल्न थाले भन्दा सायद फरक नपर्ला । डोटेली भाषामा बोलेको उनको सरल प्रस्तुति एकपछि अर्को गर्दै भाइरल हुँदै गयो । हाँसो तर व्यङ्ग्यको माध्यमबाट दर्शकको मन जितेका उनले अब भने फरक धार समाते, त्यो हो संगीतको ।

अहिले उनले आफैंले लेखेको गीत ‘मेरा कञ्चनपुर’ सार्वजनिक भएको छ । सुदूरपश्चिमको झल्को बोल्ने उक्त गीतमा आवाज दिएका छन् कुलेन्द्र परियारले, जसले यसमा मौलिकपन मात्र हैन, आधुनिक तालको संगम पनि जोडेका छन् । भिडियो निर्देशन गरेका छन् रमेश बिजुलीले । गीतमा ह्यारी कार्कीसँगै मन्नु भट्ट र विनय चन्दले अभिनय गरेका छन् ।

भिडियो छायांकन महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी जस्ता सुदूरपश्चिमका रमणीय स्थानहरूमा गरिएको छ । छायाँकार दया चौधरी र सम्पादक शंकर साउँदले गीतलाई दृश्यात्मक रुपमा मोहक बनाएका छन् । ‘मेरा कञ्चनपुर’ गीत सुदूरपश्चिमको सांस्कृतिक प्रतिनिधित्व हो । देउडा भाकालाई डिजे तालसँग मिसाएर युवापुस्तासम्म पु¥याउने प्रयास यसमा देखिन्छ । गीतमा प्रयोग भएका शब्दहरूले कञ्चनपुरप्रतिको माया प्रकट गर्दछ ।

ह्यारी कार्कीका लागि यो केवल अभिनय या गीत मात्र नभइ पुरा भएको सपना हो । उनी भन्छन्, ‘सुदूरपश्चिमको माटोमा पाइला राख्दै हुर्किएँ, अब यहीँ माटोको कथा संसारलाई सुनाउनु छ ।’  सामाजिक सञ्जालमा पनि गीतको राम्रो चर्चा भइरहेको छ । टिकटकमा छोटा क्लिपहरू भाइरल भइरहेका छन् भने युट्युबमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । धेरैले ह्यारीको यो प्रयासलाई मौलिक संस्कृतिको प्रवद्र्धनको उदाहरण भन्दै प्रशंसा गरेका छन् ।

कमेडीबाट संगीतक क्षेत्रमा प्रवेश गरेका ह्यारी कार्कीको यो यात्रा सुदूरपश्चिमेली संस्कृति, भाषा र भावनाको प्रस्तुत गर्ने एउटा उदाहरण बन्न सक्छ । ‘मेरा कञ्चनपुर’ उनले सिर्जना गरेको एउटा नयाँ र पहिलो प्रयास हो, जहाँ उनले हास्यको पाटो पार गर्दै संगीतको धुनमा जीवन र भावना बगाएका छन् । 

प्रतिकृया दिनुहोस