शिक्षक हाजिरी गर्न विद्युतीय मेसिन जडान

कञ्चनपुर, साउन २३,
डिल्लीराज पन्त,
कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन (ई–अटेन्डेन्स मेसिन) जडान सुरु भएको छ ।
भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट बुधबार विद्युतीय हाजिरी मेसिन जडान गरी यसको सुरुवात गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्युतीय हाजिरी मेसिन उद्घाटन गरेका छन् । नगर प्रमुख बिष्टले विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीलाई मेसिन हस्तान्तरण गरेका हुन् ।
जडान गरिएको मेसिनमा विद्यालयका प्रधानाध्यापक जोशी सहित शिक्षक, कर्मचारीले बटन थिचेर हाजिरी लगाएका थिए । सिद्धनाथ माध्यमिक विद्यालय भीमदत्त नगरपालिकामा विद्युतीय हाजिरी मेसिन जडान गर्ने पहिलो विद्यालय बनेको छ । भीमदत्तका १९ सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन  जडान गरिने कार्यक्रम रहेको छ ।  
विद्यालयका शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित बनाएर शैक्षिक गुणस्तर सुधारकालागि विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो । प्रधानाध्यापक कक्षमा हाजिरी मेसिन जडान गरिएको छ । भीनपाका नगर प्रमुख विष्टले सामुदायिक शिक्षालाई गुणस्तीय बनाउन नगर विद्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान सुरु गरिएको बताए ।
‘सामुदायिक विद्यनालयको शैक्षिक गुणस्तर सुधारकालागि अल्कालिन र दिर्घकालिन योजनाका साथ अघि बढी रहेका छौ’ कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘त्यसै क्रममा सिद्धनाथबाट विद्युतीय हाजिरी मेसिन जडान सुरु गरेका छौ, क्रमशः अन्य विद्यालयमा पनि जडान गर्छौं ।’
नगर शिक्षा समिति गठन गरी नगर क्षेत्रको समग्र शिक्षाको शैक्षिक र भौतिक गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय सबैको सहयोग चाहिनेमा जोड दिए । नगर प्रमुख विष्टले सिद्धनाथ माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउन भीमदत्त नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘यो विद्यालयलाई प्रविधिको प्रयोग गरी नमूना विद्यालय बनाउन सक्दो सहयोग हुन्छ’ नगर प्रमुख विष्टले भने,‘ई लाइब्रेरी निर्माण सहित भौतिक पूर्वाधार निर्माणका कार्य पनि सहयोग गरिन्छ ।
विद्यार्थीलाई फोहर व्यवस्थापनका लागि विद्यार्थीले क्लब गठन गरी प्रोत्साहन गर्नु पर्नेमा जोड दिदैं विद्यालयको खाली जमिनमा वृक्षारोपण गरी हरियाली बनाउनु आग्रह गरे ।
 कार्यक्रममा भीनपा वडा नं. ९ का वडा अध्यक्ष राम नाथ, क्षेत्रीय सहरी विकास कार्यक्रमका वातावरण विकास अधिकृत पदम जोशी, सामाजिक विकास अधिकृत गोमती अवस्थी, इन्जिनियर आशा बोहरा सहित शिक्षक, कर्मचारी, स्थानीय सहभागी भएका छन् ।