शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालय भवनको उद्घाटन

महेन्द्रनगर, १ फागुन  
शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य नरबहादुर धामी र सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले वडा कार्यालय भवनको उद्घाटन गरे । 
४६ लाख रुपैयाँको लगानीमा शौचालय, १ हलसहित ४ कोठा भएको नवनिर्मित भवनको उद्घाटन गरिएको वडा नं. ८ का अध्यक्ष बहादुरसिंह महराले बताए । आधुनिक तरिकाले वडा कार्यालय व्यवस्थापन गरिने उनले बताए । ‘कार्यालयलाई नयाँ तरिकाले व्यवस्थापन गर्छौ, अब वडावासीलाई सेवा प्रदान गर्न सहज हुन्छ,’ उनले भने ।
सिंहदरबारका अधिकार गाउँ पुगेको बताउँदै प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले स्थानीय सरकारले भौतिक संरचना निर्माणमा जोडदिनुपर्ने बताए । ‘अहिले सिंहदरबारका अधिकार गाउँ–गाउँमा पुगेका छन्, जनतालाई सहज हुनेगरि सेवा प्रदान गर्ने कर्तब्य यहाँका जनप्रतिनिधिको हो,’ उनले भने ।
स्थानीय तहमा लामो समयपछि आएका अधिकार जनप्रतिनिधिले कार्यान्वयन गर्नुपर्ने उनले बताए । ‘तिनै सरकार मिलेर जनताको हितमा काम गर्नुपर्छ, जनताका आवश्यकता पूरा गर्न सबैको सहकार्य आवश्यक छ,’प्रतिनिधिसभा सदस्य धामीले भने ।
सरकारले आवश्यक कानुन निर्माण गरिरहेको उनले बताए । ‘धेरै कानुन निर्माण गर्नुपर्ने छ, केन्द्र सरकार, प्रदेश सरकार कानुन निर्माणमा लागेका छन्,’ उनले भने । साना योजनाको निर्माण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई भएको उनले बताए । ‘अब केन्द्र सरकारले साना योजनामा काम गर्दैन्, साना योजना प्रदेश र स्थानीय तहले बनाउनुपर्छ,’ उनले भने ।
उनले चुनाबमा जनतासँग गरेका बाचा नभुलेको बताए । ‘बाचा पूरा गर्न संसदमा आवज उठाइरहेको छु, अब जनतासँग गरिएका बाचा चाडै पूरा गर्छौ,’ उनले भने । बजेटसहितको सिंहदरबार स्थानीय तहमा आएको सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । ‘स्थानीय तहमा बजेट, अधिकार आएको छ, जनताका आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी स्थानीय जनप्रतिनिधिको काधमा छ,’ उनले भने । 
कर्मचारी अभाव तथा भौतिक संरचनाको अभावमा जनताको काम गर्न ढिलाई भइरहेको उनले बताए । ‘भौतिक र कर्मचारी अभावमा जनअपेक्षा अनुसार काम गर्न सकिएको छैन्, चाडै कर्मचारीको व्यवस्थापन हुन्छ,’ उनले भने ।
 संविधानले दिएका अधिकार प्राप्तीका लागि सबैले सहकार्य गर्न आवश्यक रहेको उनले बताए । ‘उहाँ जनताको काम गर्दा बिरोध हुन्छ, बदमासी गर्न सबैको मिलेमतो हुन्छ, यस्ता खाले बिकृती हटाउनुपर्छ,’ उनले भने । 
शुक्लाफाँटा नगरपालिकाले भौतिक संरचना निर्माणमा जोड दिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । उनले नगरको बजेटबाट ५ वडा कार्यालय भवन निर्माण भइरहेको बताए । ‘वडा नं. ७ र १२ को वडा कार्यालय निर्माण कार्य अन्तिम चरणमा छ, अब सबै वडामा आफ्नै संरचना हुन्छन्,’ उनले भने ।
जनप्रतिनिधिले आपसमा समन्वय गरेर जनताको काम गर्नुपर्ने नेकपाका नेता रणबहादुर महराले बताए । वडाबाटै जनताले राज्यको सुविधा पाउने गरि वडा कार्यालयको व्यवस्थापन गर्नेतर्फ जनप्रतिनिधिले ध्यान दिुनुपर्ने उनले बताए । ‘यहाँका समस्या समाधानका लागि छलफल गरौं, समस्याको सामाधान खोजौं,’ उनले भने ।