भीमदत्तमा करोडौ लगानीको खानेपानी आयोजना सञ्चालनका लागि हस्ताक्षर

महेन्द्रनगर, २४ माघ

भीमदत्त नगरपालिका तीन वडाका वासिन्दालाई खानेपानी सुविधा पुगाउन सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई आयोजना सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको छ । भीमदत्त नगरपालिकामा बिहीबार आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष तथा सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र भीमदत्त नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । आयोजनाका लागि नगर आयोजना सहमति पत्र र वित्तिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । नगर आयोजना सहमति पत्रमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, , नगर विकास कोषका सुभास राज पन्त र सिद्धनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष करबीर ऐरले हस्ताक्षर गरेका छन् । यसैगरी वित्तिय सम्झौता पत्रमा नगर प्रमुख सुरेन्द्र विष्ट सहित आयोजना व्यवस्थापन कार्यालयका नारायण प्रसाद आचार्य, नगर विकास कोषका सुभास राज पन्त र सिद्धनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष करबीर ऐरले हस्ताक्षर गरेका छन् । भीमदत्त नागरपालिका वडा नं. ८ मा २८ करोड ५० लाखको लगानीमा सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना अन्र्तगत खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । यो आयोजनाबाट वडा नं. ८, ६ र १० का एक हजार सात सय ३० घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । तीन वडामा १० हजार भन्दा बढी वासिन्दा खानेपानी सुविधाबाट लाभावान्तित हुने छन् । आयोजनाको सहमति पत्रमा हस्ताक्षरपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर वासिन्दालाई शुद्ध खानेपानी सुविधा पुगाउन आयोजना सञ्चालन गरिएको बताए । ‘भीमदत्त नगरलाई समृद्ध नगर बनाउने लक्ष्य अनुसार नीति तथा कार्यक्रम बनाएका छौ, त्यस अन्र्तगत शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, कृषि, स्वरोजगार सबै पक्ष समेटिएका छन्’ उनले भने,‘यो आयोजनाबाट वासिन्दाले शुद्ध खानेपानी सेवा पाउँछन्, अन्य वडामा पनि खानेपानी आयोजना सञ्चालनका लागि पहल गर्छौ ।’ सिद्धनाथ खानेपानी आयोजना भीमदत्त नगरपालिकाको नगरको गौरबको आयोजना भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले अन्य वडामा पनि खानेपानी आयोजना सञ्चालनका लागि सहकार्य गरिने बताए । ‘यो आयोजना नगरको गौरबको आयोजना हो, अन्य वडामा पनि ठूला लगानीका खानेपानी आयोजना सञ्चालन गर्न सहकार्य र समन्वय गरी जान्छौ’ उनले भने । भीमदत्त नगरपालिकाको घाडीघाँच क्षेत्र हिँउदे याममा पानीको ठूलो समस्यामा पर्ने क्षेत्र भएकोले आयोजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएर जाने बताए । खानेपानी आयोजना निर्माणपछि तीन वडामा स्वास्थ्य र सरसफाईको अवस्था सुधार हुने नगर प्रमुख विष्टले विश्वास व्यक्त गरे । तीन वर्षमा निर्माण कार्य पूरा हुने आयोजनाका लागि नगर विकास कोष, सरकारको अनुदान र उपभोक्ताको लगत सहभागिताबाट बजेट व्यवस्था गरिएको छ । आयोजनाका लागि नगर विकास कोषबाट ७ करोड १२ लाख ऋण र १९ करोड ९५ लाख सरकारको अनुदान छ । यसै गरी उपभोक्ताबाट लागत सहभागिता अन्र्तगत १ करोड ४२ लाख रकम संकलन गरिएको छ । आयोजनाका लागि उपभोक्ताबाट ५ प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । २० वर्षे अवधिका लागि डिजाइन गरिएको यो आयोजनाबाट सन् २०३९ मा २१ हजार वासिन्दा खानेपानी सेवाबाट लाभावान्तित हुने अनुमान गरिएको छ । खानेपानी आयोजना अन्र्तगत तीन ओटा इन्टेक, ४ सय ५० घन मिटर क्षमताको ओभरहेड टयाङ्की, खानेपानी प्रशोधन केन्द्र प्रेसर फिल्टर एक हजार ९८ मिटर लम्बाईको प्रसारण लाइन, ५२ हजार ९ सय ४ मिटर र तीन वडामा एक हजार ७ सय ३० घर परिवारमा निजी धारा वितरण लाइन निर्माण गरिने वित्तिय सम्झौता पत्रमा उल्लेख गरिएको छ । आयोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका नगर प्रमुख विष्टले साना सहरी खानेपानी आयोजना र नगर विकास कोषसित पटक पटक गरेका थिए । आयोजनाका लागि चाहिने लागत सहभागिता जुटाउन तीन वडाका अध्यक्षसित छलफल गरिएको थियो । ‘यो आयोजना सञ्चालन गर्न सबै पक्षबाट सहयोग पाइयो, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ उनले भने,‘यो आयोजना निर्माण पूरा भएर वासिन्दाले शुद्ध खानेपानी सुविधा पाउँदासम्म सबैको साथ र सहयोग पाउने आशा राखेको छु ।’ सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा भीनपा वडा नं. ६ का अध्यक्ष हरक सिह धामी, वडा नं. १० का अध्यक्ष प्रमानन्द जोशी र वडा नं. ८ का अध्यक्ष ध्वज बहादुर विष्ट, इन्जिनियर जयराज भट्ट लगायतका सहभागी भएका छन् ।