जनज्योति आर्थिक हिनामिना प्रकरण :- ‘भोला शर्मा नाटकीय रुपमा थुनामुक्त’ !

जनज्योती बहुमुखी क्याम्पस (तत्कालिन जनज्योति एजुकेशनल फाउन्डेशन प्रालि कञ्चनपुर तथा हाल भएको जनज्योति एजुकेशनल फाउन्डेशन पब्लिक लिमिटेड) प्रकरणमा  सिईओ तथा जनज्योतिका क्याम्पस प्रमुख भोला शर्मालाई नाटकीय प्रपञ्च रचेर सोमबार प्रहरीले घुमाउरो रुपमा थुनामुक्त गरेको छ । 

यस प्रकरणले ‘सानालाई ऐन र ठुलालाई चैन’ भन्ने उदाहरणलाई चरितार्थ गरेको छ । सोमबार शर्मालाई थप उपचारका लागि भन्दै उनकी श्रीमति विद्यादेवी शर्माको जिम्मा लगाएर छोडेको प्रहरीले जनाएको छ । जनज्योतिमा आर्थिक हिनामिना गरेको भन्दै शेयर सदस्य तारा जोशीले मुद्दा दायर गरेपछि प्रहरीले शर्मालाई कार्तिक २७ गते पक्राउ गरि अदालतमा पेश गरेको थियो । अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले उनीमाथी अनुसन्धान पुरा नभएको भन्दै थप चार दिन अदालतबाट म्याद थप गराएको थियो । त्यसपछी समेत प्रहरीले अनुसन्धान पुरा नभएको भन्दै म्याद थप गर्न अदालत पेश गरेपछि अदालतले १५ दिन थप थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो, तर त्यसो भने हुन सकेन प्रहरीले तिन दिन बाहेक थुनामा राख्न सकेन, उनलाई तिन दिनपछि महेन्द्रनगर स्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि भन्दै शर्मालाई अस्पताल भर्ना गरेर राखेको थियो, स्वास्थ्य खराब भएको बहानामा उनलाई अस्पताल राखेको मुद्दाकर्ता जोशीले दावि गर्दै आएका थिए । 
सोमबार जब प्रहरीले शर्मालाई नाटकीय रुपमा थुनामुक्त ग¥यो त्यसपछि जोशीको दावि प्रमाणित भएको छ । प्रहरीले चौतर्फि रुपमा मिलाएर शर्मालाई थुनामुक्त गरिएको देखिएको छ । प्रहरीले आफुले ऐन नियम टेकेर काम गरेको बताए पनि शर्मालाई भने नियतबस रुपमा थप उपचारका लागि भन्दै सोमबार थुनामुक्त गरिएको हो । अदालतले दिएको आदेश अनुसार अझै उनि नौ दिन थुनामा हुनुपर्नेमा उनलाई अगावै छोडिएको हो । 

अञ्चल अस्पताल स्रोतका अनुसार शर्माको स्वास्थ्यमा कुनै समस्या नभएपनि प्रहरीको दवावका कारण उनलाई अस्पतालमा विरामी भनेर राखिएको थियो । शनिबार अञ्चल अस्पतालका डाक्टरहरुले अब उनलाई धरै दिन भर्ना गर्न नसकिने प्रतिक्रिया दिएपछि शर्माले आफुलाई गाह््रो भएको दावी गरेपछि प्रहरीले नयाँ जुक्ती निकाल्दै अन्यत्र उपचार गर्न लैजाने गरि कागज बनाउन दवाव दिएपछि अञ्चल अस्पतालले फिजिसियनलाई एकपटक देखाउनुपर्ने  भन्दै डिस्चार्ज गरेको जनाएको छ । उनलाई दिशाबाट रगत बगेको र सुगरको समस्या भएको पत्रमा उल्लेख छ । केहीदिन अघि पश्चिम नेपाल दैनिकले शर्मालाई किन अस्पतालमा राखिएको भन्ने प्रश्नको जवाफमा एसपि कुवेर कडायतले रक्तचाप बढ्ने घट्ने भईरहेका कारण अस्पताल भर्ना गरिएको बताएका थिए । जो डाक्टरहरुले डिस्चार्ज गर्दा दिएको सुझावसंग मेल खाँदैन । 
यसबारेमा कञ्चनपुर प्रहरी प्रहरी प्रमुख कुवेर कडायतलाई बुझ्न खोज्दा उनले धेरै अनुसन्धान गर्न बाँकी रहेको भन्दै आवश्यक पर्ने सबै २९ जना शेयर सदस्यलाई बयान लिएर अगाडि बढिरहेको बताए । उनले राज्यलाई दिनुपर्ने कर समेत नतिरेको, प्रक्रिया नै नपु¥याएको लगायत कमजोरी देखिएको बताए । उनले २५ दिनपछि पनि थप १५ दिन  म्याद थपेर समेत अनुसन्धान गर्न सकिने बताएका छन् । उनले भने ‘राज्यलाई दिने दायित्व छल्न खोजेको र प्रक्रिया नमिलाएको जस्तो देखिन्छ, यसमा हामि शुक्ष्म अनुसन्धामा छौ । ’ उनले थपे ‘शर्मालाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भन्दै श्रीमतिको जिम्मा लगाईएको छ, आवश्यक पर्ने वित्तिकै बोलाउँछौं ।’ तर शर्मालाई नत अस्पतालले रेफर गरेको छ न श्रीमतिको जिम्मा लगाउन जरुरी देखिन्छ, यसमा प्रहरीले गल्ती गरेको उजुरीकर्ता जोशीको दावी छ । 

 

रेफर लेखेका छैनौ डा. भट्ट
महाकाली अञ्चल अस्पतालका डाक्टर श्रीकृष्ण भट्टले शर्मालाई डिस्चार्ज गरिएको तर रेफर चाहीँ नलेखिएको बताएका छन् । उनले आफु र डाक्टर धिरज जोशीले हेरेको भन्दै दुवैले स्वास्थ्यमा खासै समस्या नभएको र शंका लागेमा फिजिसियनलाई जहिले पनि देखाउन सकिने गरि डाक्टरको धर्मले दिने सुझाव दिएको बताए । शर्माले आफ्नो दिशामा ब्लड देखिएको बताएपछि परीक्षण गर्दा नदेखिएको समेत खुलासा गरे । उनले भने ‘ सुगर फास्टिङ्गमा ११० हुनुपर्नेमा १२२ थियो, रक्तचापमा कुनै समस्या देखिएको जस्तो मलाई लाग्दैन, बिरामीले धेरै शंका गरेको भएर राम्रो फिजिसियनलाई देखाउन सक्नुहुन्छ भनेको हो तर रेफर चाँही गरेको होईन तर ठुलो कुरा चाँही के हो भने उहाँले दिशामा रगत आउँछ भन्नुभयो मैले परीक्षण गर्दा चाँही उहाँले भनेको सही निस्केन । ’
यसबारेमा बुझ्न खोज्दा डाक्टर धिरज जोशीले समेत रेफर नगरिएको बताएका छन् । उनले भने ‘रेफर गरेका छैनौ, तपाईलाई शंका लाग्छ भने अन्त चेकअप गराउन सक्नुहुन्छ भनेका हौं, कन्सल्टेसन भनेर राखेका हौँ, इन्डोक्राइन कन्सल्टेसन र फिजिसियन कन्सल्टेसन भनेर राखेको हौं । उनले थपे ‘उहाँको सुगर अलि बढी देखिएको थियो , यसका लागि खानपिन बार्ने या औषधि शुरु गर्ने भन्ने सल्लाह लिने भनिएको हो । ’

 

जाँदा जाँदै सात लाख  

सरकारी वकिल कार्यालयले यस प्रकरणमा लाखौं चलखेल गरेको उजुरीकर्ता जोशीले दावी गरेका छन् । उनले सोमबारै रवाना लिएर विभागमा सरुवा भईरहेका वकिल खेमराज भट्टले सात लाख घुस खाएर हस्ताक्षर गरेको दावि गरेका छन् । उनले भने ‘ २० लाख रुपैंया बाडिएको मलाई खबर छ, जसमा खेमराज भट्टले सातलाख लिएका छन् । अरु डाक्टर र प्रहरीले उनलाई थुनामुक्त गरेको भुमिका वाफत बाँडे होलान् ।’ यसबारेमा बुझ्न खोज्दा भट्टले भने ‘मलाई प्रहरीले हिजोनै फाईल पठाएको थियो, अनुसन्धान गर्ने काम उनको हो, प्रहरीले मागेबमोजिम मैले हस्ताक्षर गरेको हुँ ।’ तर सोमबार बाटै उनि विभागमा सरुवा भईसकेका छन् । उनले किन जाँदाजाँदै उक्त उक्त अनुमति दिनुप¥यो भन्ने विषय अनुसन्धानको पाटो बनेको छ । 
 

उहाँलाई विश्वासमा छाडियो, भाग्नु हुन्न : कार्की 
जनज्योति प्रकरणको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत ईन्सपेक्टर प्रकाश कार्कीले शर्मालाई भाग्नुहुन्न भन्ने विश्वासका कारण श्रीमतिको जिम्मा लगाएर थुनामुक्त गरिएको बताएका छन् । थप उपचारका गराउन घरपरिवारको माग बमोजिम उनलाई थुनामुक्त गरिएको उनले बताएका हुन् । उनले भने ‘उहाँलाई जतिखेर पनि हामि बोलाउन सक्छौं र उपस्थित गराउन सक्छौ, त्यसैले निर्धक्क भएर उनलाई हामिले पठाएका हौं ।

 

अदालतको आदेशको अवज्ञा
यो प्रकरणमा प्रहरीले अदालतको आदेशको अवज्ञा गरेको प्रष्ट भएको छ । प्रहरीले अदालतले थुनामा राखेर अनुसन्धान गर्नु भन्ने आदेशका बाबजुत पनि मनोमानि ढंगले थुनामुक्त गरेको, विनाकारण महाकालि अञ्चल अस्पतामा सुताएको लगायतका थुप्रै प्रमाणहरु भेटिएका छन् । यस प्रसंगमा अनुसन्धान अधिकृत कार्किले यो नितान्त प्रहरीको अधिकारको कुरा रहेको दावि गरेका छन् । उनले भने ‘थुप्रै कुरो हुन्छ, अनुसन्धान अधिकृतलाई लागेमा, कार्यविधिमा व्यवस्था भएबमोजिम अदालतको आदेशपछि पनि छोड्न मिल्ने हामिसंग अधिकार छ ।’ यस्तो अभिव्यक्ति र गरेको क्रियाकलापले  आदेशको अवज्ञा गरेको प्रष्ट हुन आउँछ । 


प्रहरीप्रति उब्जीएको प्रश्न र निर्मला हत्याकाण्ड
यस प्रकरणले प्रहरी संगठनप्रति उब्जीएको प्रश्नलाई चरितार्थ गरेको छ । यसलाई निर्मला हत्या प्रकरणसंग समेत जोड्न सकिन्छ । प्रहरीले जे पनि गर्न सक्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण बन्न सफल भएको छ, जनज्योति आर्थिक हिनामिना प्रकरण । अदालतले दिएको आदेशसमेत नमान्ने मात्रै हैन उल्टै प्रहरी ऐन र कानुनका साथै अधिकार भन्दै पदिय मर्यादा र पदिय अधिकारको दुरुपयोग प्रहरी संगठनमा हँुदा भोला शर्मा जस्ता आर्थिक हिनामिनाका  दोषीलाई कारवही हूँदैन र निर्मला पन्त जस्ता अनेकौं बालवाललिकाका हत्यारा पत्ता लाग्दैनन् । 
प्रमुख शर्मा र अध्यक्ष मनोरथ जोशीका नाममा ठगि गरेको आरोपमा यही कार्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएपछि यहि कार्तिक २७ गते प्रहरीले शर्मालाई पक्राउ गरि जिल्ला अदालतबाट ४ दिनका लागि थुनामा राख्ने आदेश सदर गरेर थुनामा राखि अनुसन्धान शुरु गरेको थियो । उनलाई मंगलबार तेस्रो पटक १५ दिनका लागि म्याद थपिएको हो । 

उनिहरुमाथि अडिट रिपोर्ट नै फर्जी पेश गरि आर्थिक हिनामिना गरेको,   लेखापरीक्षण प्रतिवेदन (अडिट रिर्पोट) बनाउने अडिटर नै नक्कली भएको, शर्माले आफ्नै श्रीमतिलाई कम्पनीको हिसाब हेर्न नियुक्त गरि नियतबस रुपमा कम्पनि डुबाउन खेल खेलेको, चुक्तापुजी बैंक दाखिला नगरी शेयर बाँडेर ठगेको, शेयर वाफत १८८ जनाबाट पाँच लाखका दरले लिएर नौ करोड ४० लाख रकम हिनामिना गरेको आरोपमा तारा जोशी लगायतका १० जना शेयर सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गराएका थिए ।   
‘२०६१ साल असोज २ गते जनज्योति एजुकेशनल फाउन्डेशन प्रालि कञ्चनपुरको नाममा कम्पनि रजिष्टारको कार्यालयमामा दर्ता भएको कम्पनिले २०७४ पुस १३ गते पब्लिक लिमिटेडमा दर्ता गरिपाउँ भनि कम्पनिको अधिकृत पुजी २५ करोड, तत्काल जारी गर्ने पुजी २० करोड र तत्काल चुक्ता गर्ने पुजी १५ करोड ६७ लाख ५० हजार जारी पुजी संस्थापकहरुले व्यहोर्ने प्रवन्धपत्रका साथ पेश भएको र कम्पनि रजिष्टारको कार्यालयले २०७४ माघ ७ गते उक्त अनुमति दिएपछि पब्लिक लिमिटेड भएको देखिन्छ ।’