भीमदत्त नगरपालिकामा कर छली अनुससन्धान गरिने

महेन्द्रनगर, १२ कार्तिक

भीमदत्त नगरपालिकाले कर छली रोक्न सबै वडामा अनुसन्धान टोली परिचालन गर्ने भएको छ । करको दायरा बढाउन चालु आर्थिक वर्षमा अनुसन्धान टीम परिचालन गर्न लागिएको हो । अहिले नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । भीनपा वडा नं. १९ बागफाँटा सुरु गरिएको करदाता शिक्षा कार्यक्रम आधा दर्जन वडामा सकिएको छ । यो कार्यक्रम सबै वडामा गरिने छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले चालु आर्थिक वर्षलाई कर संकलन वर्ष घोषणा गरी नगर वासिन्दालाई सचेत गराउन करदाता शिक्षा कार्यक्रम सुरु गरिएको बताए । ‘भीमदत्त नगरपालिकाले पहिलो वर्षलाई निर्वाचनको वर्ष भन्यो, दोस्रो वर्षलाई कर संकलन वर्ष घोषणा गरेका छौ’ नगर प्रमुख विष्टले भने,‘त्यसका लागि करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ, यसपछि कर छली अनुसन्धानका लागि टोली परिचालन गर्छौै ।’ भीमदत्त नगरपालिकाले कर वृद्धि नगरी करको दायरा बढाएर नगरको विकास र समृद्धिका लागि नगर वासिन्दाबाट कर संकलन गर्ने नगर प्रमुख विष्टले बताए । ‘नगरपालिका कहिल्यै कर वृृद्धि गर्दैन, करको दायरा बढाउन चाहन्छौ’ नगर प्रमुख विष्टले भने,‘हाँसी हाँसी कर तिर्ने वातावरण बनाउन चाहन्छौ ।’ नगर वासिन्दाले तिरेको कर नगरको विकासमा खर्च हुने भएकाले दुरुपयोग गर्न नहुने उनले बताए । ‘अनुसन्धान टोलीले कुन कुन क्षेत्रमा कसरी छलिएको छ, त्यसबाट कसरी संकलन गर्न सकिन्छ भनेर अनुसन्धान गर्नेछ’ उनले भने । राज्यको नयाँ संरचना अनुसार स्थानीय तहले विगतमा संघीय सरकारले संकलन गर्ने कर संकलनको अधिकार पाएको छ । स्थानीय तहलाई ढुङ्गा, गिट्टी, बालुवाको रोयल्टी कर र घर बहाल कर संकलन अधिकार दिइएको छ । यसैगरी नयाँ संविधानले कृषि सम्बन्धी सबै लगाउने अधिकार प्रदेश सरकारलाई दिएको छ । ‘नयाँ व्यवस्था अनुसार स्थानीय तहलाई कर संकलनमा थप अधिकार दिएको छ, त्यो नयाँ व्यवस्थाबारे स्थानीयलाई जानकारी दिन आवश्यक छ, त्यसैले करदातालाई सचेत गराउन अभियान चलाएका हौ’ नगर प्रमुख विष्टले भने । गत आर्थिक वर्षमा एकीकृत सम्पत्ति कर, व्यवसाय कर, पसल भाडा, नक्सापास, सवारी पार्किङ्ग, चार किल्ला, घर बाटो, सिफारिशबाट आन्तरिक आम्दानी संकलन गरिएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा १३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । चालु वर्षका लागि एक अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । आन्तरिक राजश्वको लक्ष्य गत आर्थिक वर्षको तुलनामा तेब्बर बढी हो । गत वर्ष चार करोडको लक्ष्य राखिएकोमा ५ करोड संकलन गरिएको थियो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले पहिलो नगर सभाबाट एक अर्बको बजेट विनियोजन गरेको थियो । त्यस अघि नगरपालिकामा २२ करोडसम्म बजेट विनियोजन गरिएको थियो । गत आर्थिक वर्षमा भीमदत्त नगरपालिकाका १९ ओटै वडाले ५६ लाख आम्दानी गरेका थिए । स्थानीय तहले पाएको नयाँ व्यवस्था अनुसार गत वर्ष भीनपा वडा नं. ३, ७ र ९ बाट ३८ लाख रोयल्टी संकलन गरिएको छ । यस अघि तत्कालिन जिल्ला विकास समितिले रोयल्टी संकलन गर्दै आएका थिए । भीमदत्तले चालु आर्थिक वर्षका लागि आर्थिक ऐनमा करका दर निर्धारण गरिएको छ । भीमदत्तले एकीकृत सम्पत्ति करबाट सबैभन्दा बढी आन्तरिक आम्दानी संकलन गर्दै आएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले एकीकृत सम्पत्ति करलाई वैज्ञानि बनाउन नगर वासिन्दासित छलफल गरिने बताए । ‘अहिले यतिदेखि यतिसम्म भन्ने छ, यसबाट सम्पत्ति कम र बढी हुनेले समान कर तिर्नु परेको छ’ उनले भने,‘त्यसैले कम सम्पत्ति हुनेले कम र बढी हुनेले बढी कर तिर्न पर्नु हो, त्यसैले यसलाई वैज्ञानिक बनाउन आवश्यक छ ।,’ भीनपा वडा नं. ८ तिलाचौरका स्थानीय खगेश्वर केसीले एकीकृत सम्पत्ति कर व्यवहारिक बनाउन पर्ने बताए । भीनपाका नगर उप प्रमुख सुशिला चन्द सिहको संयोजकत्वमा राजश्व परामर्श समिति गठन गरिएको छ ।