भीनपाका आधा दर्जन वडा गहुँ पकेट क्षेत्र

बाशुदेव भट्ट

महेन्द्रनगर, १० कार्तिक

भीमदत्त नगरपालिकामा गहुँको पकेट क्षेत्र बनाउन आधा दर्जन वडा छनौट गरिएका छन् । भीनपा आर्थिक विकास समिति मातहत स्थानीय कृषि कार्यक्रम समन्वय समितिले ६ वडालाई छनौट गरेको हो । कृषि ज्ञान केन्द्रले केही दिन अघि गहुँको पकेट वडा छनौटका लागि नगरपालिकालाई पत्र पठाएको थियो । केन्द्रका पत्रका आधारमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले वडा नं. ४, ११, १२, १३, १४ र १५ लाई पकेट वडा छनौट गरेको हो । नगरपालिकाले छनौट गरी वडालाई ज्ञान केन्द्रमा पठाउने सूचना अधिकारी हरि सिह धामीले बताए । यसै गरी बैठकले गहुँ, चरि, च्याउ र आलुको बिऊ खरिद गर्ने निर्णय गरेको छ । भीनपा गहुँ, तरकारी र तेलका लागि यस अघि पकेट निर्धारण गरिएका छन् । वडा नं. १ लाई आलु, ३ र ७ लाई तरकारी तथा १० नम्बर वडालाई तेलका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कृषिको आधुनिकीकरण, यान्त्रिक प्रयोग, बिऊ विजन लगायतका कार्यक्रम सञ्चालन गरी कृषिमा प्रविधि प्रयोग गर्न सुरु गरिएको बताए । तेस्रो नगर सभाबाट एक वडा एक उत्पादन पहिचान कार्यक्रम पारित गरिएको छ । गत वर्ष यसको सम्भाव्यता अध्ययन गरिएको थियो । साविक कृषि विकास कार्यालयमा अहिले कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि कार्यक्रम सञ्चालन गरिएका हुन् । नगर प्रमुख विष्टले केन्द्रसित सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गरिने बताए ।