कञ्चनपुरको दुर्गम वस्तीमा पहिलो पटक वस पुगे, स्थानीय हर्षित

महेन्द्रनगर, ४ कार्तिक

भीमदत्त नगरपालिकाको दुर्गम वस्ती खल्ला टुँडीखेलमा पहिलो पटक वस पुगेको छ । ब्रह्मदेबबाट महाकाली यातायात समितिको म १ ख ६०२ नम्बरको वस पहिलो पटक वस्तीमा पुगेको हो र स्थानीय तह निर्वाचनपछि गत वर्ष पहिलो पटक खल्ला टुँडीखेलमा मोटर बाटो खनिएको थियो । त्यस अघि बाटोमा स्थानीयलाई साइकल चलाउन समेत अप्ठेरो हुने गरेको थियो । गत वर्ष खनिएको मोटर बाटोलाई यस वर्ष चौडा गरिएपछि यात्रु बाहक वस वस्तीमा पुगेको छ । वस्तीमा वस पुगेपछि स्थानीय हर्षित भएका छन् । स्थानीय प्रकाश पालले पहिलो पटक वस पुगेपछि स्थानीय हर्षित भएको बताए । ‘पहिला त पैदल हिँड्न गाह्रो हुन्थ्यो, साइकल चलाउनु त डराउनु पथ्र्याे’ उनले भने,‘अहिले त वस नै पुगेको छ, यसले खुसी छौ ।’ वस्तीमा वस पुगेपछि स्थानीयलाई आवागमनमा सहज र आम्दानीका अवसर देखिएको बताए । ‘वस पुगेपछि आउजाउ त सहज भई हाल्छ, त्यस बाहेक आम्दानीका अवसर पनि आए’ उनले भने,‘समान ल्याउन सजिलो हुन्छ, गाउँमा अवसर पनि आए ।’ ब्रह्मदेबबाट खल्ला टुँडीखेलसम्म खोला, जङ्गल र महाकाली नदी किनारको बाटो भएर पुग्न पर्छ । जङ्गलको बाटोले वस्तीका बालबालिकाले अध्ययनका लागि सबैभन्दा बढी सास्ती भोग्दै आएका थिए । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा खल्ला, टुँडीखेल र मुसेट्टीमा सडक पुगाउने प्रतिवद्धता गरेका थिए । नगर प्रमुख विष्टले चुनावी प्रतिवद्धता अनुसार गत वर्ष टुँडीखेलमा मोटर बाटो पुगाएका थिए । नगर प्रमुख विष्टले भीनपाका दुर्गम भनेर चिनिएका तीन वस्तीको विकासलाई प्राथमिकता दिएर काम सुरु गरिएको बताए । ‘स्थानीय तह निर्वाचनको प्रतिवद्धता अनुसार तीन वस्तीको विकासलाई प्राथमिकता दिएका छौ, पहिलो वर्ष मोटर बाटो निर्माण सहित विकास निर्माणका कार्य गरिएका छन्’ उनले भने,‘यस वर्ष त्यस बाटोलाई चौडा गरी वस चलाउन बनाएका छौ, त्यसमा वस गुडेको छ, यो वस्तीका लागि खुसीको कुरा हो ।’ नगर प्रमुख विष्टले छिट्टै मुसेट्टीसम्म सडक निर्माण गरी वस सेवा सञ्चालन गरिने जानकारी दिए । मुसेट्टीसम्म बाटो सडक खन्न चालु आर्थिक वर्षमा नगरपालिका कार्यालयबाट बजेट विनियोजन गरिएको छ । वडा कार्यायले पनि यस सडकका लागि बजेट विनियोजन गरेको वडा नं. ९ का अध्यक्ष राम नाथले बताए । भीमदत्त नगर प्रमुख विष्ट सहित कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल सहित जनप्रतिनिधिहरु वस्तीमा पुगेका दिन वस पुगेको हो । उनीहरुले बाटोमा भेटेको वसका चालकलाई धन्यवाद दिदैं यात्राको कामना गरेका छन् । भीनपा वडा नं. ९ का पर्ने यी तीन वस्तीमा पाँच सय हाराहारी घरधुरी छन् । प्राचिन सिद्धनाथ मन्दिर भएको खल्ला सहित तीन वस्तीमा महाकाली कोरिडोरमा पर्छन् । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. भट्टको पहलमा चालु आर्थिक वर्षमा महाकाली कोरिडोरका लागि बजेट विनियोजन गरिएको छ । नेकपाका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा २०६६ मा ब्रह्मदेबदेखि दार्चुलाको टिङ्कर जोड्ने गरी महाकाली कोरिडोर सुरु गरिएको थियो । यसलाई महाकाली लोकमार्ग भनिन्छ । ब्रह्मदेबबाट स्थानीयले अवरोध गरेपछि बैतडीबाट महाकाली लोकमार्ग निर्माण कार्यलाई निरन्तनरता दिइएको छ । भीनपाका नगर प्रमुख विष्टले महाकाली कोरिडोरले तीन प्राचिन वस्तीको मुहार फेरिने बताए । ‘यो राजा ब्रह्मदेब राजाको पालाको वसेको वस्ती हो, कुनै बेला यो वस्ती सुदूरपश्चिममा दैनिक खाद्यान्न उपभोग्य गर्ने बजार थियो’ नगर प्रमुख विष्टले भने,‘अब यो वस्ती भएर कोरिडोर बन्छ, त्यसपछि वस्तीको मुहार फेरिन्छ ।’ तीन वस्तीलाई मध्यनजर गरी नगर प्रमुख विष्टले महाकाली नदीमा साहसिक जलयात्रा(¥याफ्टिङ्ग) को सम्भाव्यता अध्ययनका लागि स्थलगत अध्ययन गराएका छन् । महाकाली नदीको बहुप्रयोगको नीत अनुसार साहसिक जलयात्राका लागि स्थलगत अध्ययन गरिएको छ । प्राचिन, साँस्कृतिक, धार्मिक र पर्यटकीय स्थल संरक्षणका लागि नगरपालिकाबाट कार्यक्रम सुरु गरिएको छ । मुसेट्टी नजिकको त्रिशुल डाँडा र महाकाली नदीको मौन दृष्यलाई अवलोकन गराउनका नगर प्रमुख विष्टले प्राथमिकतामा दिएका छन् । ‘यो स्थानमा महाकाली नदी चुप भएर बग्छ, त्यो दृष्य अलौलिक छ, त्यो हेर्न लायक छ’ उनले भने,‘यो दृष्य देखाउन यहाँसम्म सडक पुगाउने प्रयास गर्र्दैछौ ।’ न्गरपालिकाले गत वर्ष खल्लामा बाउन्न ढोका संरक्षण, सिद्ध सरोवर निर्माण, विद्यालयमा मैदान र पर्खाल निर्माण तथा खल्लामा किसानका लागि बोरिङ्ग जडान गरेको छ । गत वर्ष पहिलो पटक खल्लामा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।