महेन्द्रनगर बजारमा विशेष सरसफाई कार्यक्रम

महेन्द्रनगर, २७ असोज
महेन्द्रनगर बजार क्षेत्रमा दशैं र तिहारको अवसर पारी विशेष सरसफाई कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयले राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय, उद्यमी व्यवसायी सहितको सहभागितामा सरसफाई कार्यक्रम गरेको छ । 
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट कुचो बोकेर बजारमा सरसफाई गरेका छन् । महेन्द्र नगर बजारको स्मारक क्षेत्रमा नगर प्रमुख विष्टबाट सरसफाई कार्यक्रमको सुरुवात गरिएको छ । 
नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकालाई सफा, स्वच्छ र सभ्य बनाउन सरफाई कार्यक्रम गरिएको बताए । ‘भीमदत्त नगरलाई समृद्ध बनाउने सपना बोकेका छौ, यो नगरलाई सफा, स्वच्छ र सभ्य बनाउन चाहन्छौ’ नगर प्रमुख विष्टले भने, ‘अहिले दशैं तिहारको अवसरमा विशेष कार्यक्रम गरिएको छ, यसलाई आगामी दिनमा निरन्तरता दिन्छौ ।’
नगर वासिन्दालाई सरसफाई सम्बन्धी जनचेतना फैलाउन समेत विशेष कार्यक्रमबाट सहयोग पुग्ने नगर प्रमुख विष्टले अपेक्षा व्यक्त गरे । 
‘यसबाट नगर वासिन्दालाई सरसफाई सम्बन्धी जनचेतना फैलाउन सहयोग पुग्ने आशा राखेका छौ’ उनले भने । 
स्मारक क्षेत्रबाट सुरु सरसफाई कार्यक्रम बजार क्षेत्र, पूरानो वसपार्क, नयाँ वसपार्क र विद्युत प्राधिकरण कार्यालयसम्म गरिएको छ । बजारका सबै गल्ली फोहर हटाएर सफा गरिएका छन् ।
भीमदत्त नगरपालिकाका जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, हेल्प नेपाल, सामुदायिक प्रहरी, युथ भ्वाइस, उद्यमी व्यवसायी, राजनीतिक दलका नेता सरसफाई कार्यक्रममा सहभागी भएका छन् ।
हेल्प नेपालका अध्यक्ष मदन बहादुर चन्दले बजार क्षेत्रका व्यवसायीले फोहर हुन नदिनु पर्ने बताए ।
‘पसल अगाडि फोहर गर्न भएन, आफ्नो फोहर आफैंले व्यवस्थापन गरौ’ उनले भने,‘फोहर फाल्नेले व्यवस्थापन गर्नतिर पनि सोच्नु पर्छ ।’
भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रमा घुम्ती सरसफाई कार्यक्रम सञ्चालन गर्र्दै आएको छ । घुम्ती सरसफाई कार्यक्रम अन्र्तगत सबै वडामा सरसफाई कार्यक्रम राखिएका छन् । 
भीमदत्त नगरपालिका कार्यालयले बजार क्षेत्रबाट दैनिक रुपमा फोहर संकलन गर्दै आएको छ ।