भीमदत्तलाई समृद्ध बनाउन सहयोगको प्रतिवद्धता

महेन्द्रनगर, २६ असोज

भीमदत्त नगरपालिकाले दशैं तिहारको अवसर पारी नगरको विकास र समृद्धिका लागि सरोकारवाला निकायसित बृहत कार्यक्रम गरेको छ । नगरको विकासमा सरोकार र भूमिका विषयक कार्यक्रममा राजनीतिक दल, पूर्व मन्त्री, सरकारी तथा गैर सरकारी निकाय, नागरिक समाज, अधिकारकर्मी, उद्यमी व्यवसायी सहभागी भएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सहभागीहरुले भीमदत्त नगरलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलले स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउन सहकार्य गर्ने बताए । ‘स्थानीय सरकारका निर्णय कार्यान्वयन गराउन हामीसहकार्य गर्छौ’ उनले भने,‘मेयरलाई सहयोग नगरेको दिन मलाई विभागीय कारवाही हुन्छ ।’ नेकपाका नेता ईश्वरी प्रसाद खरेलले नगरपालिकाले विपन्न, दलित, महिला, मजदुरलाई समेटेर जनप्रिय कार्यक्रम बनाउनु पर्नेमा जोड दिए । उनले अवैध लिज प्रकरणमा छानबनि गरी कारवाही गरिनु पर्ने र सत्तारुढ नेकपा वा काँग्रेस नेता कार्यकर्ताबाट संरचना भत्काउन सुरु गरिनु पर्ने उनको भनाई थियो । नेकपाका नेता बीर बहादुर थापाले भीमदत्त सहित ९ ओटै स्थानीय तहको विकासका लागि सबैले राजनीतिक आस्था भन्दा माथि उठ्नु पर्ने बताए । ‘कञ्चनपुरमा ९ ओटा स्थानीय तह छन्, सदरमुकामको नगरपालिका भएकाले भीमदत्त नगरपालिका विभिन्न घट्नाक्रमसंग जोडिएको छ’ नेता थापाले भने,‘यो नगर जिल्ला बनाउन सबै हामीले राजनीतिक आस्था बोकेर हुँदैन, अब एकै ठाउँमा आउनु पर्छ ।’ निर्मला पन्त हत्या प्रकरणमा सुरुदेखि गरिएको आन्दोलन अनुसन्धान प्रभावित हुन पुगेको नेता थापाको भनाई थियो । नेपाली काँग्रेस कञ्चनपुरका सचिव ईश्वरी प्रसाद जोशीले नगर सभा अघि राजनीतक दल सहित सबै पक्षसित छलफल गर्न सुझाव दिए । काँग्रेस नेता भोजराज बोहराले नगरपालिकालाई फोहरमैला व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यो नगरपालिका देशकै चौथो ठूलो नपा हो, सुदूरपश्चिममा सबैभन्दा ठूलो हो’ उनले भने,‘फोहरमैला व्यवस्थापनका लागि वडा, स्थान निश्चित गरेपछि सहयोग गर्छौ ।’ भीमदत्त नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल अघि सारेको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरिएको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्र्तगत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धर्मराज जोशीले भीमदत्त नगरपालिकाको वडा नं. ४ को वडा कार्यालय नहुन दुःखद भएकाले यसतर्फ ध्यान दिनु पर्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उपरीक्षक कुबेर कडायतले शान्ति सुरक्षालाई प्रभावकारी बनाउने बताए । ‘शान्ति सुरक्षाका लागि कुनै कम्प्रोमाइज हुँदैन’ उनले भने । प्रहरीलाई गाली गरेर मात्रै समस्या समाधान नहुने उल्लेख गर्दै उनले प्रहरीको जनतासित सहकार्य र समन्वयका लागि सामुदायिक प्रहरीलाई वडासम्म विस्तार गर्न कार्यविधि बनेको प्रहरी उपरीक्षक कडायतको भनाई थियो । महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्र बहादुर विष्टले आफ्नो कार्यकालमा हालसम्म भएका १८ बैठकमध्ये १२ बैठकमा अवैध संरचना भत्काउने निर्णय गरिएको बताए । कार्यक्रममा मजदुर नेताहरु कर्ण बहादुर नेगी, पदमराज जोशी, नागरिक समाजका भवराज रेग्मी, अधिकारकर्मी प्रभुनिधि पन्त, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका उप मन्त्री मन्जु जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष भवानी चन्द, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश रावल, नेपाली काँग्रेसका नगर सभा सभापति पदमराज अवस्थी, कृष्णानन्द भट्ट, अपिलाल जोशी, सुशिल भट्ट, पत्रकार खेम भण्डारी, कञ्चनपुर हार्डवेयर व्यवसायी संघका अध्यक्ष दान सिह ठकुराठी, शिक्षक उत्तम विष्ट, बुद्धिजीवि कृष्णदेब भट्ट, हेल्प नेपालका अध्यक्ष मदन चन्द लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगर प्रमुख विष्टले भीमदत्त नगरको समृद्धि र विकासका लागि सबै पक्षसित सहकार्य र समन्वय गरिने उल्लेख गर्दैै कार्यक्रमबाट आएका सुझाव अनुसार आगामी दिनमा कार्यक्रम गरिने बताए । नगर विकास समितिको जग्गामा मापदण्ड विपरित निर्माण गरिएका संरचना तत्काल रोक्नु पर्ने बताए । ‘यो दायित्व हाम्रै हो’ नगर प्रमुख विष्टले भने । नगर प्रमुख विष्टले उज्यालो भीमदत्त कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले कार्यालयको प्रगति प्रस्तुत गरेका थिए । भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । नगर प्रवक्ता राजेन्द्र पाण्डेयले सञ्चालन गरेको कार्यक्रममा पूर्व मन्त्री उर्वादत्त पन्त, भीमदत्त नगर कार्यपालिका सदस्य लगायतका सहभागी भएका छन् ।