मापदण्ड विपरित संरचना बनाउन नदिन नविसलाई पत्राचार

महेन्द्रनगर, ७ असोज ,

भीमदत्त नगरपालिकाले महेन्द्रनगर विकास समितिको जग्गामा मापदण्ड विपरित निर्माणाधिन संरचना रोक्काका लागि पत्र पठाएको छ । नगर विकास समितिको कब्जामा नगरपालिकाबाट नक्सापास नगरी निर्माण थालिएका संरचनाको निर्माण रोक्न पत्र पठाएको हो । नगर विकास समितिलाई पठाएको पत्रको जानकारी सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । भीमदत्त नगरपालिकाका सूचना अधिकारी प्रशासकीय अधिकृत हरि सिह धामीले नगर विकासको जग्गामा मापदण्ड विपरित संरचना निर्माण गरिएको जानकारी आएपछि नगरपालिकाले रोक्नका लागि नगर विकासलाई पत्रचार गरेको जानकारी दिए । ‘नगर विकास समितिको जग्गामा नक्सापास नगरी संरचना बनेको जानकारी आएको छ, नक्सापास नगरी नगरपालिका क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन’ उनले भने,‘त्यस्ता संरचनाको निर्माण तत्काल रोकेर नक्सा पास गरी संरचना बनाउनका लागि पत्र पठाएका छौ’ सूचना अधिकारी धामीले भने । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको भदौ ३१ गते बसेको कार्यपालिका बैठकबाट मापदण्ड विपरितका संरचना निर्माण रोक्का गर्न माग गर्ने निर्णय गरिएको थियो । भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले गुरु योजना अनुसार बनेको महेन्द्रनगर सहरलाई बिगार्ने गरी नक्सापास नगरी नगर विकास समितिको जग्गामा निर्माण भई रहेकाले रोक्का गर्नु पर्नेमा जोड दिएका थिए । भीनपाका सूचना अधिकारी धामीले कार्यपालिका बैठकमा गरिएको निर्णय अनुसार मापदण्ड विपरित निर्माण थालिएका संरचनाको रोक्काका लागि पत्राचार गरिएको जानकारी दिए । नगर विकास समितिलाई पठाएको पत्रमा संरचना निर्माण रोक्का गर्न समिति वेवास्ता गरेमा स्थानीय प्रशासनको सहयोग लिने उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ मा नगरपालिका क्षेत्रमा घर निर्माणका लागि नक्सापास गर्नु पर्ने प्रावधान छ । निर्मला पन्त हत्या प्रकरणमा आन्दोलन चर्किएको मौका छोपेर होटेल ओपेरा रोड, पूरानो वसपार्क र खोका छाप्रा क्षेत्रमा धमाधम नयाँ भवन निर्माण थालिएका छन् । यस अघि स्थानीय प्रशासनले घर निर्माण कार्य रोक्दै आएको थियो । निर्मला हत्या प्रकरणपछि जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारी सरुवा गरिएपछि अवैध निर्माण सुुरु गरिएको हो ।