भीमदत्तका सामुदायिक विद्यालयमा कम्प्युटर वितरण

महेन्द्रनगर, १ असोज

भीमदत्त नगरपालिकाले शिक्षालाई प्रविधिमैत्री बनाउन सामुदायिक विद्यालयमा कम्प्युटर वितरण सुरु गरेको छ । भीमदत्त नगरपालिका वडा नं. ११ बाट कम्प्युटर वितरण सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सोमबार महाकाली जनज्योति आधारभूत विद्यालय र सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीमा कम्प्युटर वितरण गरेका छन् । ती दुबै विद्यालयमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, पत्रकार र अभिभावक सहभागी कार्यक्रममा ती दुबै विद्यालयलाई कम्प्युटर प्रदान गरिएको छ । ती दुबै विद्यालयमा गरिएका कार्यक्रममा नगर प्रमुख विष्ट प्रमुख अतिथि थिए । महाकाली जनज्योति आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सिह सुनारको सभापतित्वमा कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख विष्टले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि सक्दो सहयोग गर्ने बताए । ‘पूर्वाधार व्यवस्थापन, शिक्षक कर्मचारी दरबन्दी, भौतिक पूर्वाधार लगायतका समस्या छन्, त्यसका लागि नगरपालिका कार्यालयबाट सकिने सहयोग गर्छौ’ उनले भने । कार्यक्रममा नगर प्रमुख विष्टले नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष स्वर्गिय कर्ण बोहरालाई स्मरण गरे । २०६७ मा बाढीले बगाएपछि विद्यालय सञ्चालनका लागि पूर्व अध्यक्ष बोहराले सहयोग गरेका थिए । ‘यस अवसरमा म पत्रकार महासंघका पूर्व अध्यक्ष स्वर्गिय कर्ण बोहरालाई सम्झन चाहन्छु, वहाँ मेरो अनन्य मित्र पनि हुनु हुन्थ्यो’ उनले भने,‘यो विद्यालयका लागि वहाँले जे जति गर्नु भयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’ बढीले बगाएपछि भुजेला खोला नजिक दुई कट्टा जमिनमा विद्यालय सञ्चालन गरिएको छ । विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा भीनपा वडा नं. ११ का अध्यक्ष प्रेसाद जैसी, नगर कार्यपालिका सदस्य गीता ओली, प्रधानाध्यापक तर्कराज जोशी लगायतले आ–आफ्नो धारणा राखे । वडा अध्यक्ष जैसीले नगर प्रमुख विष्ट सामुदायिक शिक्षा सुधारका लागि चिन्तित देखिएको उल्लेख गर्दै सबैले सहयोग गर्नु पर्नेमा जोड दिए । विद्यालयका शिक्षक परशुराम भट्टले कार्यक्रम सञ्चालन गरेका थिए । यसैगरी सिद्धनाथ अमर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य रमेशचन्द्र शर्माको सभापतित्वमा गरिएको कार्यक्रममा कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यालयका शिक्षक प्रताप सिह साउँदले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नं. ११ का अध्यक्ष जैसी, विद्यालयका प्रधानाध्यापक मोहनदत्त भट्ट लगायतले आ–आफ्नो धारणा राखे । विद्यालय शिक्षक सोवेन्द्र कुमार रानाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा नगर प्रमुख विष्टले सामुदायिक शिक्षा सुुधारका लागि शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक सबैसित समन्वय र सहकार्य गरी जाने उल्लेख गर्दै विद्यार्थी संख्या, शिक्षक कर्मचारी दरबन्दी, सरुवा, बढुवा, बाल विकास कोटा, भौतिक पूर्वाधार लगायतका समस्या समाधान गरिने बताए । विद्यालयको निर्माणाधीन पुस्तकालय भवन निर्माण सम्पन्न गर्न विद्यालयसित छलफल गरिने नगर प्रमुख विष्टले बताए । दुबै विद्यालयमा गरिएका कार्यक्रममा नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, नगर प्रवक्ता एवम् वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डेय, वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, कार्यपालिका सदस्य गीता ओली, वडा सदस्य रतन बहादुर खड्का, बुद्धिजीवि बिस्ना पन्त भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी, निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी लगायतका सहभागी भएका छन् ।