नेपाल विद्यार्थि संघको आन्दोलन जारी

कञ्चनपुर, जेठ ३१
डिल्लीराज पन्त/
पेट्रोलियम पदार्थको मुल्यवृद्धि को विरोधमा नेपाल विद्यार्थि संघ कञ्चनपुरले निरन्तर आन्दोलन गर्दै आएको छ ।
सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले आज पनि सदरमुकाम महेन्द्रनगरमा शसक्त आन्दोलन गरेको छ ।
गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने कार्यक्रम अन्र्तगत सुदुर पश्चिम विश्व विद्यालय केन्द्रिय क्याम्पसको गेट वाटै नारावाजी सहित वजार क्षेत्र पुगेका थिए । 
देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले समेत चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
यसअघि ठाउँठाउँमा मशाल जुलुस, सिटि जुलुस लगायतका विरोधका कार्यक्रम गर्नुका साथैै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएको विद्यार्थि नेताहरुले जनाएका छन ।
राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरित काम गरेकाले आन्दोलित हुनु परेको नेपाल विद्यार्थि संघले जनाएको छ । 
उता प्रशासनले आन्दोलनका वेला अवान्छित कृयाकलाव हुन नदिन वजार क्षेत्र तथा चोकहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ ।